छेपारो (आन्तोन चेखव)

 



  • रूसी कथाकार तथा नाटककार आन्तोन चेखव (१८६०-१९०४)लाई इतिहासकै सबैभन्दा महान् कथाकारमध्येमा लिने गरिन्छ । अगस्ट स्ट्रेन्डबर्ग, हेनरिक इब्सेनसँगै चेखवलाई आधुनिक थियटरको महत्वपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । आफ्नो जीवनकालमा चिकित्साक्षेत्रमा आबद्ध रहेका उनी चिकित्साशास्त्रलाई आफ्नो कानुनी श्रीमती र साहित्यलाई प्रेमिका बताउने गर्थे । उनका चर्चित नाटकहरूमा 'द चेरी अर्काड', 'थ्री सिस्टर्स' र 'द सिगल' पर्छन् । उनका २०० भन्दा बढी छोटा कथाहरू प्रकाशित छन् भने उनका कथाहरू समीक्षकहरूको रोजाइमा पर्ने गर्छन् । प्रस्तुत छ चेखवको कथा 'अ च्यामेलियन'को अनुप जोशीले गरेको नेपाली अनुवाद 'छेपारो' : 

याँ ओभरकोटमा ठाँटिएर प्रहरी सुपरिटेन्डेन्ट ओचुमेलोभ काँखीमा एउटा पार्सल च्याप्दै हिंडिरहेको छ । उसको पछिपछि रातो कपाल भएको एक प्रहरी सिपाही हातमा एक टोकरी अमला बोकेर आइरहेको छ । चारैतिर सुनसान छ। चोकमा एकजना पनि मान्छे देखिदैन । खुला पसल र भट्टीका ढोकाहरू भोका मुखहरूजस्तै गरी इश्वरको सृष्टिलाई उदासीपूर्ण नजरले हेरिरहेका छन् । एउटा भिखारीसम्म पनि आसपासमा देखिइरहेको छैन ।


‘ए! त्यसोभए तैले टोक्छस्? दुष्ट जनावर!’, ओचुमेलोभले अचानक सुन्छ, ‘केटाहरू, यसलाई उम्कन नदेऊ ! समात त्यसलाई...लौ...समात!’

कुकुर भुकेको आवाज सुनिन्छ। आवाज आएको दिशातर्फ आचुमेलोभले फर्केर हेर्छ र एउटा कुकुर उफ्रिदै पीचूगिनाको आँगनबाट भाग्दै आइरहेको देख्छ । धर्के कमिज लगाएको र टाँक खुल्ला नै राखेको एउटा मान्छे उसलाई लखेटीरहेको देखिन्छ। ऊ कुकुरको पछिपछि दौडिरहेको छ र उसलाई समात्ने प्रयत्नमा आफ्नै शरिरलाई अगाडि हुत्याएर उसले लड्दा-लड्दै पनि कुकुरको पछाडिपट्टिको खुट्टा समात्छ । फेरी एकपल्ट त्यहाँ कुकुरको भौं-भौं र ‘फुत्किन नपाओस्!’ भन्ने चिच्याहट सुनिन्छ । के भएछ भनेर पसलका मानिसहरू घाँटी तन्काएर त्यतातर्फ हेर्न थाल्छन् र उत्तिखेरै त्यहाँ एउटा विशाल भीड जम्मा हुन्छ, मानौं त्यो जमिन नै फाटेर निस्केको होस् ।

‘त्यहाँ झगडा परिरहेको छ जस्तो छ,सरकार’, सिपाहीले भन्छ।

आचुमेलोभ बाँयातर्फ मोडिन्छ र भीड भएतर्फ लाग्छ।

उसले देख्छ कि यसअघि उल्लेख गरिएको कमिजको टाँक खुल्ला राखेको मान्छे त्यहाँ उभिएको छ। ऊ आफ्नो दाहिने हातलाई माथि उचालेर भीडलाई रगतपच्छे औंलाहरू देखाइरहेको थियो । लाग्थ्यो कि उसको नशाले मदहोश भएको अनुहारमा स्पष्टसँग लेखिएको छ, ‘म तँलाई यसको मूल्य चुकाउन लगाउँछु, बदमाश कहींको!’, र उसको त्यो औंला विजयको झन्डा जस्तै गरि हावामा फर्फराइरहेको थियो । आचुमेलोभले तुरुन्तै ऋकिन नामको त्यस व्यक्तिलाई चिनिहाल्यो, जो सुनारको काम गर्थ्यो । यस्तो बबण्डर मच्चाउने दोषी कुकुर भने भीडको मध्यभागमा आफ्ना अगाडिका खुट्टा भुईंमा तन्काउँदै तल-देखि माथिसम्म थरथर्ती कामेर बसिरहेको थियो । तीखा दाँत भएका यो बोर्जोय प्रजातिको कुकुरको पीठमा पहेंलो दाग थियो । आँसुले भरिएका उसका आँखाहरूले वेदना र डरको अभिव्यक्ति दिइरहेका थिए ।

यो पनि पढ्नुहोस : 

कमजोरमाथि शोषण गर्न कति सजिलो छ !

‘यहाँके हंगामा भइरहेको छ?’, आचुमेलोभले भीडलाई ठेलेर अगाडि बढ्दै प्रश्न गर्यो । ‘तँ किन यहाँ आएको? किन आफ्नो औंला माथि उठाएको?....को हो भर्खरै कराउने, हँ?'

‘म कसैलाई केही नगरिकन चुपचाप आफ्नैसुरमा हिडिरहेको थिएँ, सकार’, ऋकिनले हातले मुख छोपेर हाछ्यु गर्दै भन्न सुरु गर्यो, ‘म मित्री मिचित्रसँग दाउराको बारेमा वार्तालाप गरिरहेको थिएँ । त्यतिकैमा एकाएक कुनै कारण विना नै यो फटाहा कुकुर आएर मेरो औंलामा टोकिदियो...म एउटा सामान्य कामदार हुँ...र मेरो काम सबैले राम्रो मान्छन् । सायद अब एक हप्तासम्म मेरा औंलाहरू काम गर्न लायक हुँदैनन् होला, कृपया मलाई क्षतिपूर्ति दिलाईदिनुहोस्...र कानूनमा पनि कतै लेखिएको छैन कि जनावरहरूले टोक्दा हामीले चुपचाप सहनुपर्छ...यदी सबैलाई कुकुरले यसरी टोक्दै हिंड्न थाल्यो भने त बाच्नुको कुनै अर्थ बाँकी रहने छैन’

‘ठीक छ', आचुमेलोभले गला साफ गर्दै आफ्ना आँखीभौं माथि उचालेर भन्यो, ‘ठीक छ ...यो कुकुर कसको हो? म यो घटनालाई यत्तिकै छाड्नेवाला छैन! कुकुरलाई खुल्ला छाडेकोमा म दोषीहरूलाई गतिलो पाठ सिकाउनेछु। कानूनअनुसार नचल्नेहरूसँग अब कडा रुपमा प्रस्तुत हुने बेला आएको छ ! त्यो बदमाशलाई यस्तो क्षतिपूर्ति तिराउँछु कि कुकुर र अरु जनावरलाई यसरी खुल्ला छोड्नुको परिणाम के हुन्छ भन्ने थाहा पाउनेछ ! म उसलाई कडा पाठ सिकाउँछु ! येल्दीरिन!...’, प्रहरीसिपाहीलाई सम्बोधन गर्दै प्रहरी सुपारीटेन्डेन्ट जंगिन्छ, ‘पत्ता लगाउ कि यो कुकुर कसको हो र तुरुन्तै रिपोर्ट तयार गर ! र योकुकुरलाई तुरुन्तै मारिदेऊ ! पक्कै पनि यो बौलाहा कुकुर होला !...म सोध्दै छु, यो कुकुर कसको हो, हँ?'

‘मलाई लाग्छ यो जनरल जिगालोभको हुनुपर्छ’, भीडबाट कसैले भन्यो ।

‘हँ? जनरल जिगालोभको पो हो?येल्दीरिन, लौ मेरो कोट खोलिदेऊ त ! भयङ्कर गर्मी भयो ! सायद यो पानी पर्ने सङ्केत होला...अँ, मैले बुझ्न नसकेको एउटा कुरा, यसले तँलाई कसरी टोक्न पुग्यो ? आचुमेलोभ ऋकिनतर्फ मोडियो, ‘पक्कै पनि कुकुर आफैं त तेरो औंलासम्म पुगेन होला । कुकुर निकै सानो छ र तँ भने मोटोघाटो र पूरै अग्लो छस्...कुनै काँटीले घोपेर तेरो औंला काटिएको होला र यसबाट क्षतिपूर्ति उठाउन पर्यो भनेर तैंले कुकुरले टोक्यो भन्ने बाहाना बनाइस् जस्तो छ । हामी सबैलाई थाहा नभएको हो र...तिमीहरू कस्ता छौ भनेर ! म तँजस्ता शैतानहरूलाई राम्रोसँग चिन्दछु ।’

'यसले जिस्किंदै कुकुरको अनुहारमा ठोसेर चुरोट निभाएको थियो,सरकार ! र कुकुरलाई पनि झोंक चल्यो अनि टोकिदियो 'नि...यो मान्छे निकै फटाहा छ, सरकार'

‘यो झूटो हो, सरकार! जब तैलें के भएको थियो देखेकै थिइनस् भने अहिले किन ढाँटिरहेको छस्? सरकार एकदमै समझदार व्यक्ति होइबक्सन्छ । उहाँलाई थाहा छ कि कसले झूठो बोलेको छ र कसलेसत्य बोलिरहेको छ...मेरो आफ्नै भाइ पनि पुलिसमा छ...भन्दैछु है'

‘बन्द गर यो बकवाश’

‘अहँ, यो जनरल साहबको कुकुर होइन', सिपाहीले गम्भीरतापूर्वक भन्यो, 'उहाँसँग यस्तोखाले कुनै पनि कुकुर छैनन्, उहाँका कुकुर त सबै सिकारी कुकुर हुन्'

‘के तिमी निश्चयताका साथ भन्न सक्छौ?’

‘सक्छु, सरकार’

‘मलाई पनि थाहा छ । जनरल साहबका सबै कुकुरहरू बहुमुल्य छन्, राम्रो नश्लका । एकसेएक महँगा कुकुरहरू छन् उहाँसँग। यो त बिल्कुल मामुली छ ! न राम्रो जीउडाल छ, न रुप छ । हेर न ! यो त बिल्कुल घटिया खालको देखिन्छ ! कसले पाल्छ यस्तो कुकुर ? तिमीहरूको दिमाख त खराब भएको छैन? यदि यस्तो कुकुर पीटर्सबर्गमा देखियो भने थाहा छ के हुन्छ? कानूनको वास्ता नै  नगरिकन एक मिनेटमै यस्तो कुकुरलाई मार्छन् ! ऋकिन, तिमीलाई निकै चोट लागेको छ र यो मामलालाई हामीले त्यसै टुंगाउनु हुँदैन ! यिनिहरूलाई मज्जा चखाउनुपर्छ ! यो राम्रो मौका हो।’

‘तर अझै पनि यो सम्भव छ कि यो जनरल साहबकै कुकुर हो’, सिपाहीले गम्भीरतापूर्वक सोच्दै बर्बरायो ।‘यस्को निधारमा त यसको मालिकको नाम लेखेको छैन नि। हिजो मैले जनरल साहबको आँगनमा बिल्कुल यस्तै कुकुर देखेको थिएँ ।’

‘तर अझै पनि यो सम्भव छ कि यो जनरल साहबकै कुकुर हो’, सिपाहीले गम्भीरतापूर्वक सोच्दै बर्बरायो । ‘यस्को निधारमा त यसको मालिकको नाम लेखेको छैन नि। हिजो मैले जनरल साहबको आँगनमा बिल्कुल यस्तै कुकुर देखेको थिएँ ।’

‘यो त पक्का जनरल साहबकै कुकुर हो’, भीडबाट कसैको आवाज आयो ।

'येल्दीरिन, मलाई मेरो कोट लगाईदेऊ त ! चिसोहावाको झोंका आइरहेको छ। मलाई सर्दी महसुस भयो। तिमी झट्टै यो कुकुरलाई जनरल साहबकोमा लैजाऊ र सोधपुछ गर। भन्नु कि मैले यसलाई सडकमा देखेको थिएँ र फिर्ता पठाईदिएको छु । र उनीहरूलाई यो पनि भन्नु कि यसलाई अबदेखि सडकमा निस्किन नदिनू । थाह छैन कति महँगो कुकुर हो, यदी हरेक सुँगुरले यसको मुखमा चुरोट ठोस्न थाल्यो भने त निकै ठूलो विध्वश हुनेछ । कुकुर निकै नाजुक जनावर हुन्छ । र तँ हात तल गर ! गधा कहींको ! बेकारमा आफ्नो फोहोरी औंला किन देखाइरहेको? सबै गल्ति तेरो नै हो'

‘ऊ...जनरल साहबको भान्से यतै आइरहेको छ ..उसलाई नै सोधौं न .. ए प्रोहोर! यता आउ त, मेरो प्यारो मान्छे ! यस कुकुरलाई हेर त ..कहिँ यो तिम्रो मालिकको त हैन ?'

'हैन,के भन्नुहुन्छ...हाम्रोमा त कहिले पनि यस्तो कुकुर थिएन’

‘यसको बारेमा सोधेर समय बर्बाद गर्न आवश्यक छैन’, आचुमेलोभले भन्यो, ‘यो त भुस्याहा कुकुर हो ! यसको बारेमा कुरा गरेर समय बर्बाद गर्नुपर्दैन । उसले यसलाई भुस्याहा कुकुर भन्छ भने यो भुस्याहा कुकुर नै हो । यसलाई तुरुन्तै मारिदिनुपर्छ र यो नै मेरो अन्तिम फैसला हो'

‘यो कुकुर हाम्रो त होइन’, प्रोहोरले थप्यो, ‘तर यो जनरल साहबको भाइको कुकुर हो, जो हिजो मात्रै सवार होइबक्सनुभएको छ। हाम्रो मालिकलाई हाउन्ड कुकुरमा कुनै चासो छैन तर उहाँको भाइलाई भने यो नश्ल निकै मन पर्छ’

‘के? सरकारको भाइ यहाँ आउनुभएको छ? भ्लादिमिर इभानिच?', अचम्म मान्दै आचुमेलोभले सोधपुछ गर्यो र उसको सम्पूर्ण अनुहार हर्षले चम्कियो । ‘ओहो ! मलाई त थाहा नै थिएन ! के उहाँ भ्रमणका लागि आउनुभएको हो?’

‘हो, हजुर’

‘ओहो! मैले त कहिल्यै...उहाँ आफ्नो दाइबाट कहाँ टाढा रहन सकिबक्सन्थ्यो र?...र मलाई त थाहा नै थिएन...त्यसो भए यो सरकारको पो कुकुर हो ? यो त निकै खुसीको कुरा हो । यसलाई लिएर जाऊ...आहा! कस्तो प्यारो कुकुर रहेछ...कति खाइलाग्दो!...हाहाहा यो मान्छेको औंलामा पो टोकिदेछ है ! चै..चै..आऊ..तिमी किन काँपिरहेको? कुकुर रिसाएजस्तो छ...कति सुन्दर कुकुर!'

प्रोहोरले कुकुरलाई बोलायो र आफूसँगै लिएर गयो । भीड ऋकिनलाई देखेर हाँस्न थाल्यो ।

‘पख, म तँलाई ठीक पार्छु’, आचुमेलोभले उसलाई धम्कायो र ओभरकोट लगाएर चोकबाट गुज्रदै आफ्नो बाटो लाग्यो ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment