शङ्का (कविता)
तिम्रो पाउमा काँचका टुक्राहरूले नघोचून् भनेर
मैले झिसमिसेमै उठेर असरल्ल छरिएका काँचका टुक्राहरू टिपेर डस्टबिनमा फ्याँकिदिएँ
तिमीले पनि यत्रतत्र छरिएका कपडाहरू आलमारीमा मिलाएर राख्यौ
तिमीले मायाले गमलामा रोपेका फूलहरू
ठुलै भूकम्पले क्षतविक्षप्त बनाएको घर जस्तै
चकनाचुर भएर भुइँमा लडिरहेका थिए
मैले तुरुन्तै बजार गएर नयाँ गमलाहरू ल्याएँ
तिमीले सबैभन्दा मलिलो माटो ल्याएर ती गमलाहरू सजाइदियौ
हामीले एक एक गरी ती सबै फूलहरू नयाँ गमलामा रोप्यौँ
कुनै दन्तकथाको मालीले झैँ तिमीले ती गमलामा पानी हालिदियौ
केही बेरमै सबै फूलहरू मुस्कुराउन थाले
तिमी भोकाएकी होउली भनेर मैले तिमीलाई मन पर्ने परिकार बनाएँ
तिमीले आफूलाई मन पर्ने रेस्टुरेन्टको खाना जस्तै गरी मिठो मानेर खाइदियौ
(मैले पनि कति नमिठो खाना बनाएछु भन्ने कुरा आफूलाई मात्र थाहा भए जस्तो गरी चुपचाप बसेँ)
अफिस जाने बेलामा तिमीले मलाई कसेर अँगालोमा बाँध्यौ
मैले पनि तिम्रा ओँठहरू चुमेँ
साँझमा-
कहिले तिम्रो फोन बज्यो
कहिले मेरो म्यासेज आयो
मेरो फेसबुक पोस्टमा कुनै केटीको कमेन्ट आयो
तिमीलाई कुनै केटाको फ्रेन्ड रिक्वेस्ट आयो
आज भर्खरै ल्याएका काँचका नयाँ गिलाँसहरू फुटे
कपडाहरू भुइँभरि छरिए
कतै गमला फुटेको आवाज आयो
कतै खाट काँपेको आवाज आयो
रातभरि केही फुटेको जस्तो
केही चर्किएको जस्तो
केही गर्ल्यामगुर्लुम ढलेको जस्तो आवाज मात्र आइरह्यो
तिम्रो पाउमा काँचका टुक्राहरूले नघोचून् भनेर
मैले झिसमिसेमै उठेर असरल्ल छरिएका काँचका टुक्राहरू टिपेर डस्टबिनमा फ्याँकिदिएँ
तिमीले पनि यत्रतत्र छरिएका कपडाहरू आलमारीमा मिलाएर राख्यौ...
-अनुप जोशी
0 सुझाबहरु:
Post a Comment