सिर्जना मेरो हृदयको गीत हो : महेश पौड्याल


सिर्जना मेरो हृदयको गीत हो : महेश पौड्याल



लेखक तथा समालोचक महेश पौड्यालको दोस्रो कथासंग्रह “त्यसपछि फुलेन गोदावरी” शुक्रबार काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानमा एक समारोहबीच लोकार्पण सम्पन्न भयो । ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा बीस कथाहरु समाविष्ट छन् । यसघि ११ वटा कृतिहरु प्रकाशित गरिसकेका पौड्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अंग्रेजी विभागमा अध्यापनरत छन् । उनी अहिले श्रीमती रमा अधिकारी पौडयालसँग भक्तपुरमा बस्दै आएका छन् । प्रस्तुत छ लेखन र समालोचनाका साथसाथै अनुवाद र बालसाहित्यको क्षेत्रमा समेत उल्लेख्य योगदान पुर्याउदै आएका पौड्यालसँग खरीबोटका लागि अनुप जोशीले गरेको कुराकानीको सम्पादित अंश :

१. तपाईंको कथासंग्रह "त्यसपछि फुलेन गोदावरी" हिजो मात्रै सार्वजनिक भएको छ लोकार्पण कार्यक्रम कस्तो रह्यो? पुस्तकबारे कस्ताखाले प्रारम्भिक प्रतिक्रिया पाइरहनुभएको छ?

विमोचन ऐतिहासिक रह्यो । यत्तिको उपस्थिति मैले मेरा कार्यक्रमहरूमा कहिल्यै देखेको थिइनँ । कतिपय प्रियजनहरू बस्न पाउनुभएन, उभिएरै कार्यक्रममा भागि लिइदिनुभो । कतिपय भने ढोकाबाट छिर्न नसकेर बाहिरबाट माया बाँडेर फर्कनुभएछ । म क्षमा याचना गर्छु । किताबका बारेमा समीक्षकहरूले उत्साहजनक प्रतिक्रिया दिनुभो । कथानकमा कतै कतै अतिशयोक्ति रहेको र नारी पात्र कथान्तमा कमजोर भएको टिप्पणी गर्नुभयो । तर पनि, यी कथाले नेपाली कथाको रजतपटमा एउटा नयाँ सुरुवात गरेको कुरा प्राध्यापक अभि सुवेदी र प्राज्ञ मातृका पोखरेलले बताउनुभयो । कुमारी लामाले यी समाज, मनोविज्ञान र पलायनका कथा भएको बताइन् भने प्राध्यापक अम्मराज जोशीले कथोपकथनको शिल्प र आख्यान शैलीको सराहना गर्नुभयो ।

२.  पुस्तक प्रोमोसनका लागि अहिले निकै व्यस्त हुनुहुन्छ तपाईं  यो पुस्तक पाठकले किन पढ्ने ?

म विगतका करिब डेढ दशकदेखि लेखनक्षेत्रमा छु, र मेरा पाठकले मलाई पढिरहेकै छन् । पाठक बढिरहेकै पनि छन् ।  त्यसको अर्थ, उनीहरू मेरो लेखनमा केही न केही कुरा उनीहरूको रुचीको भेट्छन् । जहाँसम्म यस सङ्ग्रहको कुरो छ, यो छुटेको इतिहास र छुटेको समाजशास्त्रको कथा हो । परिवर्तन र क्रान्तिको कुरा गरिहँदा, न परिवर्तनले, न कुनै क्रान्तिले छोएका, आफ्नै परिधिभित्र बाँचेका एक्ला, विक्षिप्त अथवा अशक्त पात्रहरू पनि समाजमा छन्, जो हम्मेसि देखिँदैनन् । तर उनीहरूलाई छोडेर समाज अगाडि बढ्दा त्यो पूर्ण हुन्छ भन्ने म ठान्दिनँ । हो, त्यही छुटेको, छोपिएको वा ओझेलिएको समाजको एक झल्को पाउन मेरो कथा मद्दतगार हुनसक्छन् ।


२. कस्तो पृष्टभूमिमा संग्रह तयार भयो ?  कस्ता विषयवस्तु समेट्नु भएको छ कथाहरुमा ? कस्ता कुराहरुले तपाईंलाई कथा लेख्न प्रेरित गरे?

म दुई दशकदेखि कथा लेख्दै आएको छु । मेरा कथा, कथैको रूपमा अथवा उपन्यासिकाका रूपमा प्रकाशित हुँदै नै आइरहेका छन् । तर मैले व्यसायिक प्रकाशन्गृहमार्फत् पाठकहरूको बृहत्तर समाजमा मेरो कथा पु¥याउन नसकेकै हो । तर यासपालि कम्मर कसेकोछु । भारत र नेपालका विभिन्न परिवेशलाई मेरो कथाको कार्यपिठिका बनाएको छु । मेरो विषयवस्तु भनेको मान्छोको मनोविज्ञान हो । देख्दा एउटा देखिने, भित्र अर्कै जीवन बाँचिरहने पनि हुन्छ मान्छे । मेरो कथाका पात्रको भित्रपट्टिको पाटो मेरो कथामा बढी आएको छ । ठूलाले नबुझ्दा अन्यायमा परेका बालबालिका, सबलाङ्गले नबुझ्दा दुःखमा परेका विकलाङ्ग, जवानले नबुझ्दा दुखेका बूढापाका, सन्तानले नबुझ्दा दुःखी भएका बूढापाका, मालिकले नबुझ्दा पछि परेका नोकरहरू, समाजले नबुझ्दा तल परेका नारीहरू मेरो कथाका पात्र हुन्, र तत्तत् परिस्थितिमा न्यायको खोजी, मेरो कथाको मूल अभीष्ट हो । 

जहाँसम्म प्रेरणाको कुरा छ, समाजमा घुम्दा, जाँदा मैले खोज्ने गरेका पात्र वा घटना भेटेँ भने म कथा लेखिहाल्छु । नत्र लेख्दिनँ । टेबलमै टाउको ठठाएर कथा कहिल्यै फुरेन मलाई । पूरै काल्पनिक कथा म लेख्दिनँ । कल्पनै लेखे पनि एउटा कथाको भ्रूणचाहिँ कुनै वास्तविकता नै हुन्छ मेरो सम्दर्भमा ।


३. समकालीन नपाली साहित्यमा उपन्यास बढी पढिन्छन् | कथासाहित्य उल्लेख्य रुपमा फस्टाउन सकेको देखिंदैन आख्यानकारहरु पनि विशेषगरि उपन्यासतिरै आकर्षित हुन्छन् यस्तो अवस्थामा कथासङ्ग्रह प्रकाशित गर्नु जोखिम नहोला ? तपाईंले अहिलेको साहित्य बजार कस्तो पाउनुभएको छ ?


विश्लेषण सही हो । तर, कथा लेखेको छु, कथै छाप्नुप¥यो । एक नम्बरमा नभए पनि उपन्यासपछि, बिक्रीको हिसाबमा कथा माथि नै छ ।  फेरि, कथोपकथनको परम्पराबाट आएको हाम्रो समाजको एउटा आफ्नै निर्मिति पनि हो कथा । एउटा सिँगो उपन्यासले एउटा विषयवस्तुलाई उठाउन सक्छ भने, त्यही आउतनको एउटा कथा सङ्ग्रहले, छोटा छोटा कथामार्फत्, बीसौँ विषयको उठान गर्न सक्छ । एउटै कथासङ्ग्रहभित्रै, आन्तरिक विविधता सम्भव छ, र एकैचोटि विविध चाखका पाठकहरूको रुचिलाई सम्बोधन गर्न सक्छ । मैले बजारको मनोविज्ञान बुझेको छ, र त्यसरी हेर्दा अलिकति जोखिन त छ । तर हेरौँ, के थाह । तपाईंहामीले नै निर्माण गरेको त हो बजारको रुचि पनि । फेरिन पनि त सक्छ । 

४. यसअघि तपाईको उपन्यास "तादी किनारको गीत” प्रकाशित भयो | कस्तो प्रतिक्रिया पाउनुभयो पाठकहरुबाट? तादी किनारको गीतको फ्लेवर आउँछ कि आउँदैन तपाईंको नयाँ कथाहरुमा?

तादी किनारको गीतमाथि आएका प्रतिक्रियाबाट आह्लादित छु । जहाँ जहाँ पुग्यो र पढियो, त्यहाँ त्यहाँबाट अपार माया पायो कृतिले । तर, यसको प्रकाशकले बजार व्यवस्थापन पटक्कै राम्रो गरेन । दोलालघाट र नुवाकोटको कथा छ, ती ठाउँमै पुगेन । मेरो पाठक सबैतिर छन्, किताब कतै पुगेन । म पूर्वको मान्छे, पूर्व गएन । काठमाडौँ पनि साहित्य बेच्ने मूल गौँडामा किताब गएन । निराश छु । त्यैले गोदावरी अर्के प्रकाशन गृहबाट छाप्दैछु ।

कथा लेख्ने र भाषा खेलाउने मेरो एउटा शैली छ । त्यो शैली, गोदावरीमा पनि आउने नै भयो । फेरि मलाई नदी, पानी, नदीकिनार, माझी, डुङ्गा र बालबालिका असाध्य मनपर्छ । ती पात्र र विम्ब तादी किनारको गीतमा पनि थिए, गोदावरीमा पनि आएका छन् । तर, गोदावरीमा अन्य परिवेशका कथा पनि छन् र केही नयाँ, आजको समयका कुरा पनि छन्, । त्यसैले विविधता पनि पाइएला ।


५. तपाईं विशेषगरि नेपाली साहित्य क्षेत्रमा समालोचकको रुपमा चिनिदै आउनुभएको छ | अहिले आफैं लेखक भएर प्रस्तुत हुनुभएको छ समालोचकबाट लेखक हुँदाका अनुभवहरु कस्ता छन् तपाईंसँग ?

म पहिले लेखक नै थिएँ, हुँ । मेरा ११ प्रकाशित कृतिमा सिर्जनाका दस, समालोचनाको एक । अब भन्नुस्, म के हुँ? मैले पत्रपत्रिकामा पुस्तक समीक्षा लेख्ने गरेकोले मलाई समालोचक भनेका हुन् । त्यसैले, सिर्जनामा निरन्तर लाग्दा मलाई आफ्नै घरमा बसेजस्तो लाग्छ । समालोचनामा लाग्दा मितबाका घर गएजस्तो लाग्छ ।

समालोचना अरुका लागि गरेँ, कथा आफ्नै लागि लेखेको हुँ । समालोचनामा जानी नजानी, कनीकुथी बौद्धिक हुने कोशिस गरेँ र हृदय लुकाए । कथामा हृदय लेखेको छु । मेरो भावपक्ष ल्याएको छु । मेरा आँसु र हाँसो लेखेको छु । सिर्जना मेरो हृदयको गीत हो । समालोचना अरुले दिएको गृहकार्य हो । दुवै प्रेमले गर्छु, तर सिर्जनामा जस्तो खुसी र आनन्दा समालोचनामा आउँदैन ।

६. तपाईं पहिलेदेखि नै कविताहरु लेख्नुहुन्छ  सामाजिक संजालमा तपाईंका धेरै कविताहरु पढ्न पाइन्छन् अब तपाईंलाई कविको रुपमा कवितासंग्रह पनि पढ्न पाइएला ?

म दुई खाले कविता लेख्छु आयतनका हिसाबले लामा, र छोटा । छोटा कविता त ५०० जति होलान् । सङ्ग्रह गर्ने हो भने, किताब बनिहाल्छ । लामा कविता (लामा किवता भनिने अर्थमा होइन, औसत लम्बाइका कविता) पनि ३० वटा जति छन् । केही थप, र केही काँटछाँट गर्दा सङ्ग्रह पुग्छ होला । अब हेरौँ, गोदावरीले मैदानमा गोल छिराउने हो कि आत्मघाती गोल गर्ने हो । बजारमा मेरो नाउँको स्वीकृति कस्तो हुन्छ, त्यो हेरेर म अगाडिका सङ्ग्रहको योजना बनाउँछु । कविता भने निरन्तर लेखि नै रहनेछु ।


Share on Google Plus

About Anup Joshi TV

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment