अर्धकट्टी


अर्धकट्टी
-अनुप जोशी

एउटा सामान्य कागजको सफेद पन्ना थियो त्यो
जसभरि हामीले मनमौजी आफ्ना नामहरू लेख्यौँ
तिमीले पोत्यौ अलिकति मायाको रङ
मैले त्यहीँनेर आफ्नो मुटुको आकार टाँसिदिएँ
पेन्टर न थियौ मायाको तिमी
तिमीले देखेका हरेक सपनाहरू त्यसैमा पोतिदियौ
मैले पनि आफ्ना सपनाका डोबहरू थपिदिएँ
त्यो कागजको पन्नालाई रङ्ग्याउँदा रङ्ग्याउँदै
हामीले हाम्रो भविष्यको स्पष्ट किरणहरू निहार्‍यौँ
पिरतीको घर बनायौँ एउटा
झ्याल-ढोकाहरूमा बुट्टाहरू भर्‍यौँ
कोठाहरूमा सिङ्गार-पटार गर्‍यौँ
रङहरूसँग हराउँदै थियौँ हामी
त्यो कागजको सफेद पन्नामा
तिम्रो मुटु र मेरो मुटु एकाकार भैसकेको थियो
तिमीले अचानक
ध्वार्रआधा कागज च्यातेर हिड्यौ कतै सुदूर क्षितिजतर्फ
मेरो हातमा अब आफ्नो नाम लेखेको अर्धकट्टी मात्र बाँकी छ
तिमी गएपछि यति एक्लो भएको छु प्रिय
त्यो च्यातिएको अर्धकट्टी बोकेर
अरू धेरै च्यातिएका मुटुका टुक्राहरूसँग जोड्न खोजेँ मैले
तिमीले यति टेढोमेढो बनाएर च्यातेकी रहेछौ त्यो पन्नालाई कि
अब क्यै गरे पनि त्यो अरु कसैसँग जोडिँदै जोडिँदैन
क्षितिजपारि पुगिसकेकी ए मायालु!
यत्ति त भनिदेऊ-
तिमीले लिएर गएको अर्धकट्टी कसरी अर्को मुटुसँग सजिलै जोड्न सक्यौ?


Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment