सगरमाथा आरोहण (लुक्लाबाट बेस क्याम्पसम्म)




                      सगरमाथा आरोहण
                (लुक्लाबाट बेस क्याम्पसम्म)





--Anup Joshi


काठमाण्डौ बाट झण्डै चालीस मिनेटको हवाई यात्रा पश्चात लुक्ला विमानस्थलमा अवतरण गर्न सकिन्छ । हिमाली बतासको स्पर्शानुभूतिमा रम्दै अघि बढ्दा विभिन्न लज तथा होटलहरुले स्वागत गरिरहेका भेटिन्छन् । मिनरल वाटर तथा पेय पदार्थहरुको मूल्य तुलनात्मक रुपमा उच्च हुने भएकाले तताइएको पानी पिउन उपयुक्त हुन सक्छ । तपाईले आफ्नो रोजाईमा फ्राई राइस, पिज्जा , मम , सुपजस्ता खानाहरुको आनन्द लिन सक्नुहुन्छ । समून्द्री सतह देखि २८६० मिटर उचाईमा रहेको लुक्लामा मूख्यतय सेर्पा जातिहरुको बसोबास रहेकाले गुम्बाहरु देख्न सकिन्छ । तपाईको सामान बोक्नका लागि भरीया तथा मार्ग निर्देशनका लागि गाइडहरु आफ्नो सेवा प्रदान गर्न सदा तत्पर भेटिन्छन् । 
                                         


लुक्ला सगरमाथा आरोहणको यौटा प्रमुख सुरुवाती खुड्कीलो मात्रै हो । तेसपछि झन्डै दश दिनको यात्रा पार गरेर सगरमाथा बेस क्याम्प सम्म पुग्नुपर्ने हुन्छ अनि मात्रै चुलीतर्फको यात्रा उत्कर्षमा पुग्दछ । लुक्ला छिचोलेर दुधकोशी खोलाको किनारै किनार पानीको कलकल बगाईलाई मनोस्पर्श गर्दै अघि बढ्दा दुई–तीन घण्टाको पैदल यात्रा पश्चात फाक्दिङ् भन्ने सानो गाउँ पुगिन्छ । फाक्दिङ् लुक्ला भन्दा २०० मिटर ओरालो ठाउँमा अवस्थित भएकाले त्यहाँसम्म पुग्न तपाईलाई उकालो चढ्नु पर्दैन । त्यो रात विश्रामपूर्वक बिताउनका लागि फाक्दिङ्मा रहेका विभिन्न होटल तथा लजमध्येको यौटा छान्न सक्नुहुन्छ । फाक्दिङ्मा सामान्य सुविधायुक्त बार , रेष्टुराँका साथै ईन्टरनेट उपभोग गर्नका लागि साइबर क्याफेहरु समेत उपलब्ध छन् । भोलिपल्ट भने फाक्दिङ्लाई बिदाई गरेर यात्राको गन्तव्य तर्फ अग्रसर हुनु पर्छ ।


हिमाल चढ्नु भनेको जीवन चढ्नु हो । जीवनको यात्रामा जस्तै शिखरको यात्रामा पनि अफ्ट्यारा र कठिनाईहरु हुन्छन् । तेसैले उर्जापूर्ण मुद्रामा प्रकृतिको छटाहरुमा परमानन्द महसुस गर्दै अघि बढ्नुपर्ने हुन्छ । फाक्दिङ्बाट पाँच–छ घण्टाको यात्रा पश्चात पुगिने ठाउँ हो–नाम्चे बजार । दुधकोशी खोलाको किनारै किनारमा यात्रालाई गति प्रदान गर्दै गर्दा अनुकुल मौसममा पुग्नुभयो भने बाटामा पर्ने रातै फुलेका गुराँसघारीको सुन्दरतालाबाट मोहित हुन सक्नुहुनेछ । नाम्चे बजार पुग्ने बाटोको ठाउँ–ठाउँमा स–साना होटल तथा पसलहरु रहेकाले केहि बेर विश्राम गरेर भोजन गर्न सक्नुहुनेछ । मोन्जो यस्तै तपाईले पार गर्नुपर्ने गाउँ हो जहाँ होटल र रेष्टुराँहरु छन् । मोन्जोलाई बिदाई गरेर नाम्चेतर्फ अघि बढेपछि तपाई सगरमाथा आरक्षण क्षेत्रमा प्रवेश गर्न सक्नुहुन्छ । तर अनुमतिका लागि तपाईले आफ्नो पासपोर्ट देखाएर टिकट किन्नुपर्छ । दुधकोशी खोला तर्नका लागि पटक–पटक झलुङ्गे पुलको प्रयोग गर्नुपर्छ । पुलहरु हल्लीने भए तापनि ती मजबुत स्टीलबाट बनेकाले डराउनु पर्दैन । झलुङ्गे पुल तरेर जोर्सेल गाउँ पुगेपछि अगाडि पसलहरु कम हुँदै जाने भएकाले तेंही आवस्यक भोजन गर्नु उपयुक्त हुन्छ । अब भने यात्रामा अफ्ट्यारोपना र जोखिम बढ्दै जान्छ । दुई देखि तीन घण्टासम्म लगातार उकालो चढ्दै जानुपर्छ । सामान्य फिटनेस भएका यात्रुलाई थकान र अक्सीजनको कमि महसुस हुन गई बारम्बार विश्राम लिनु पर्ने हुनसक्छ । तर सामुन्ने देखिने हिरा जस्तो अनमोल र कंचन हिमाल जित्ने अभिलाषाले तपाईमा उर्जा थप्न र थकान मेट्न सहयोग गर्न सक्छ । नाम्चे बजारको द्वारमा आईपुग्दा तपाईले सगरमाथा आरक्षण क्षेत्रको लागि किनेको आफ्नो टिकट देखाएर पुलिसको चेकपोइन्ट पार गर्नुपर्नेछ ।


सेर्पा जातिको बाहुल्यता रहेको नाम्चे बजार खुम्बु क्षेत्रकै महत्वपूर्ण स्थान हो । यो समुन्द्री सतहबाट ३४४० मिटर उचाइमा अवस्थित छ । पछिल्ला दिनका यात्राबाट थकित तपाईको शरीरले विश्रामको माग गर्ने भएकाले नाम्चे बजारका लज तथा रेष्टुराँहरुमा मनचाह आराम लिन सक्नुहुन्छ । यहाँ केहि दिन बिताएर यहाँको वातावरण र उचाईसँग घुलमेल हुन सक्नुहुन्छ । तेसैले यी दिनहरुलाई “मौसमीकरण समय” पनि भनिन्छ । नाम्चेमा रहँदा तपाँईले छुटाउनै नहुने ठाउँ हो–एभरेष्ट भ्यू होटल । जहाँबाट सगरमाथाको रोचक दृश्यावलोकन गर्न सकिन्छ । झण्डै दुई घण्टाको अन्तरालमा तपाई नाम्चे बजार पैदल घुम्न सक्नुहुनेछ । भारी बोक्ने याकहरुको झुण्डले तपाइको मन आकर्षित पार्न सक्छ । नाम्चेको मध्य भागमा हरेक विहान बजार लाग्दछ । तीब्बत लगायत विभिन्न ठाउँबाट व्यापारीहरुको ओहिरो लाग्छ । सामानहरु असरल्ल सडकमै फिँजाईएका हुन्छन् । तपाईको आगामी यात्राका लागि आवस्यक पर्ने ज्याकेट, स्लिपिङ ब्याग , जुत्ता , मोजा , लुगा , टिस्सिउ पेपर आदि खरिद गर्न सक्नुन्छ । तर पर्यटकलाई चर्को मूल्य लिइने हुदाँ तपाईसँग आफ्नो गाईड छ भने उसलाई किन्न लगाउनु फाईदा जनक हुन्छ । यस्तै नाम्चेमा रहेका विभिन्न साईबर क्याफेमा गएर आफनो परिवार , आफन्तसित सम्पर्कमा आउन सक्नुहुन्छ । तर सेटलाईट कनेक्सन भएकाले इन्टरनेट स्लो हुन सक्छ । नाम्चेका रेष्टुराँहरुमा पश्चिमा खानाहरुको पनि स्वाद लिन सकिन्छ ।


याक र बतासको आवाज श्रवण गर्दै नाम्चे बजारबाट झण्डै सात घण्टा जति बेसक्याम्प तर्फ अघि बढ्दा तेङ्बोचे भन्ने सानो गाउँ पुगिन्छ । बाटोमा मौसम अस्थिर वा परिर्वतनशील हुने गर्छ । पुराना झोलुेङ्गे पुलहरुको सहायतामा खोला पार गर्नुपर्ने हुन्छ । दुई–तीन घण्टाको हिँडाई पश्चात बाटोमा पर्ने होटलहरुमा बसेर भोजन गर्न सकिन्छ । तर पेय पदार्थहरुमा भने पहिलेका ठाउँमा भन्दा यँहा पचास प्रतिशत सम्म उच्च मूल्य पर्न जान सक्छ । अगाडि बढ्दै जाँदा उचाई र अक्सीजनको कमिले तपाईमा असजिलोपना ल्याइदिन सक्छ । यँहाका रैथाने सेर्पाहरु बाहेक अरुलाई सामान्य गतिमा यात्रा गर्न असम्भब हुन्छ ।

३८६७ मिटर उचाईमा रहेको तेङ्बोचेमा खुम्बु क्षत्रकै सबैभन्दा ठुलो बौद्घ गुम्बा अवस्थित रहेको छ । सर्वप्रथम सन् १९२३ मा बनाईएको उक्त गुम्बा सन् १९८९ मा आगोलागी हुँदा ध्वस्त भएको थियो । तर पछि स्यंसेवकको सहयोग र वैदेशिक लगानीमा गुम्बाको पुनर्निमाण गरिएको छ । यस गुम्बाबाट आम्दाब्लामको दृश्यावलोकन समेत गर्न सकिन्छ । तेङ्बोचेको मध्य सडकमा बसेर याक र पोर्टरहरु आवतजाबत गर्दै गरेको मनमोहक दृश्य पनि नियाल्न सक्नुहुनेछ । यो गाउँको मध्यभाग तिर क्याम्पिङको लागि ठुलो भू–भाग छुट्याईएको छ । तेङ्बोचेमा पनि ईन्टरनेट क्याफेहरु छन् तर बिजुली भने सँधै नहुन सक्छ ।

खोलाको किनारलाई पछ्याउँदै तेङ्बोचेबाट अघि बढ्दा डिङ्बोचे भन्ने गाउँमा पुगिन्छ । सामान्य रुपमा भ्रमण गर्न आउने पर्ययटकहरु तेङ्बोचेबाटै फर्किने भएकाले अब भने मान्छेको संख्यामा कमि आउँदै जान्छ । बाटोमा रहेका केहि होटलहरुमा याकको दुध लगायत विभिन्न प्रकारका खाद्य पदार्थ खान सक्नुहुन्छ । यो दिन झन्डै तपाइले ६ घण्टा लामो यात्रा गर्नुपर्ने हुन्छ । उचाइको कारणले अधिकांश पर्ययटकहरुलाई टाउको दुख्ने जस्ता कमजोरी महशुस हुने गर्छ र श्वासप्रश्वासमा समस्या आउन सक्छ । ४५३० मिटर उचाईमा रहेको डिङ्बोचेमा कम से कम दुई रात बिताउनु उपयुक्त हुन्छ । यस्ले तपाईलाई मौसमिकरणमा सहयोग पुर्याउँछ ।


डिङ्बोचे पश्चात बेस क्याम्प तर्फ अघि बढ्दा आउने गाँऊ हो–लोबुचे । बाटोमा चकहङ उपत्यकाको अनुपम दृश्याबलोकन गर्न सकिन्छ । दिनभरीमा लगभग ६ घण्टा भन्दा बढी हिंड्नुपर्ने हुन्छ । यस बिचमा यौटा सानो पेरीचे भन्ने गाउँ आउँछ । पेरीचेमा आकस्मिक उपचारका लागि मेडिकलको सुविधा रहेको छ । केहि सामान्य पसलहरु पनि छन् । लोबुचे पुगेपछि चर्को बतासले धूलो उँडाएको देख्न सक्नुहुनेछ । लोबुचेमा लज तथा होटलहरु थोरै संख्यामा भएकाले रहन–बस्नलाई भने असुविधा हुन सक्छ । समुन्द्री सतहबाट ४९२८ मिटर उचाईमा रहेर हिमाली सौन्दर्यको भाकामा भाका मिलाए पछि तपाई आफ्नो यात्रातर्फ उन्मुख हुनु पर्दछ । लोबुचेबाट ५ किलोमिटर उकालो चढेपछि गोरक्से पुग्न सकिन्छ । चट्टानहरुको दुरुहमार्गी यात्रालाई साहसी मनका साथ जित्नु पर्ने नियतिलाई भोगेर तपाई गोरक्से पुग्न सक्नुहुन्छ । सगरमाथाको चुली चुम्न अदम्य हिम्मत बोकेर हिँडेका आरोहीहरुलाई गोरक्से नै मुख्य बेस क्याम्प हो । सगरमाथाको संरचनाले गर्दा हिमालको फेदी गोरक्सेबाट चुलीको दृश्यावलोकन गर्न भने सकिँदैन ।


गोरक्सेबाट तीन घण्टाको यात्रा पश्चात बेस क्याम्प पुग्न सकिन्छ । तर बाटो अत्यन्तै अफ्ट्यारो र भयानक भएकाले यात्रा जोखिमपूर्ण हुन जान्छ । खराब मौसमका कारण विभिन्न दुर्घटनामा परेर ध्वस्त भएका हेलिकप्टरहरु यत्रतत्र देख्नमा आउँछन् । यहाँ हावा ज्यादै पातलो मात्रामा पाइन्छ । कतै पनि स्पष्ट मार्ग नभेटिने भएकाले अनुभवी गाईड बिना यात्रा गर्नु असम्भब हुन जान्छ । हिमपात मार्गबाट गुज्रिनुपर्ने भएकाले अत्यधिक खतराबाट पार हुनु पर्छ । प्राय जसो यात्रुहरु मौसम र ऋतुलाई ख्याल गरेर अप्रिल अथवा मे महिनामा सगरमाथा आरोहण गर्दछन् ।

सन्धर्भ सामाग्री:



Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment