लैंगिक भेदभाव सँधैका लागि अन्त्य [अन्तर्वाता]

              लैंगिक भेदभाव सँधैका लागि अन्त्य 

[  महिला विकास संस्था , बेसिशहर  लमजुङको अधिकृत दीपा घिमिरेसँगको अन्तर्वाता]


------अनुप जोशी 


                                                                   

“महिला शोषण गरीब परिवारमा भन्दा मध्यम तथा सम्पन्न परिवारमा बढी देखिन्छ ।” – दीपा घिमिरे

  महिला विकास संस्था , बेसिशहर  लमजुङको अधिकृत भएर लामो समयदेखि कार्यरत रहँदै आएकी दीपा घिमिरे महिलालाई सहारा होईन स्वतन्त्रता चाहिन्छ भन्ने धारणा राख्नुहुन्छ । विरेन्द्र बहुमुखि क्याम्पस, भरतपुरमा मानविकी विषयमा स्नातकोत्तर गरेपछि सिमोन दि विभोर जस्ता नारीवादी लेखकहरुको गहिरो छाप परेको उनमा महिलाको हक र अधिकारका लागि केहि गरौं भन्ने अन्तरइच्छा पलाएर आयो । अन्तत महिला विकास लमजुङको अधिकृतको रुपमा आफुलाई पाउँदा सपना साकार हुने आशा देखिन् । गाउँमा महिलाको अवस्था कस्तो छ त भन्ने प्रश्न गर्दा उनी भन्छिन्–“स्वतन्त्रता भनेको चेतनास्तरको वृद्घि सँगै प्राप्त हुँदै जाने हो । गाउँमा चेतना फैलिदै गईरहे पनि अझै महिलाहरुको स्थान उल्लेखनीय रुपमा सन्तुष्टिजनक भने छैन । स्रोत र शक्तिमा पहँुचको कमिले गर्दा नारीहरु अझै पनि पुरुषको इशारा र दवावमा चल्न बाट मुक्त भैसकेका छैनन् ।”

               नेपाली समाज पुरुषप्रधान भएकाले धर्म,संस्कार,परम्परा जस्ता सम्पूर्ण पक्षले महिलालाई पुरुषको सहचारिकाका रुपमा मात्रै चित्रित गर्ने गर्छन् । विहे अगाडि बुवा र दाजुभाईको अनि विहे पछि पति र छोराछोरीको स्याहार–सुसार गर्ने जिम्मा दिइएका महिलाहरुको अवस्था एक्काईसौं शताब्दीसम्म आईपुग्दा भने केहि हदसम्म सुधार आएको तर्क घिमिरेले गरीन् । उनको अनुभवमा जहाँ घर–परिवारमा समान अवसर दिईएको छ त्यहाँ महिला–पुरुष दुवै बराबर छन् तर जुन परिवारमा समानता छैन त्यहाँ महिलाहरु कमजोर र असक्षम बनेका छन् । लामो समयसम्म गाउँ–गाउँ पुगेर सबैखाले महिलाको समस्या र अवस्थालाई नजिकबाट नियालेकी घिमिरेले स्थापत्य र परम्परागत मान्यताहरु एकै चोटी तोड्न नसकिने कुरा उल्लेख गरीन् । साथै युरोपेली मुलुकमा चर्कीरहेको नारीवादी फिमेन( ँभ्ःभ्ल्) आन्दोलनको उदहारण दिँदै नेपालमा पनि यौटा सशक्त नारी आन्दोलनको जरुरत रहेको संकेत दिईन् ।

               सत्ताधारी नेताहरुमा पुरुष मानसिकता हावी रहेको र देशको राजनैतिक अस्थिरताले गर्दा उचित एवम् कडा निति निमार्ण र तेसको प्रयोगमा कमजोरी रहेको दर्शाउँदै नारीहरुमा पनि संगठित हुने भावना आउनुपर्ने विचार घिमिरेले व्यक्त गरीन् । “प्रत्येक नारीले एकपटक नारी दर्शनको गहन अध्यन गर्नैपर्छ । सिमोन दि विभोर , माया एन्जलो, तसलिमा नसरिन जस्ता सशक्त नारी हस्ताक्षरलाई सबैले पढेर आफु समाजमा कति पछाडि पारिएका छौं भन्ने कुराको स्वस्वत्वबोध गर्नैपर्छ ।” “यो पुरुषवादी समाजमा हरेक क्षेत्रले नारी कमजोर छ भन्ने कुराको भ्रम फैलाउन खोज्छ । विज्ञापन, चलचित्र, पाठ्यक्रम सबैले महिलालाई तिमी कमजोर छ्यौ भन्ने लघुताभाषको घातक बीजारोपण गर्दछन् । अझै पनि हाम्रा नानीहरुलाई विद्यालयमा बहादुर राजकुमार आएर निरीह युवतीलाई राक्षसको जंजीरबाट मुक्त गराएर लगेको कथा पढाइन्छ । यसले उनीहरुको बालमनोविज्ञानमा यो छाप पारिदिन्छ कि पुरुषहरु बहादुर हुन्छन् र महिलाहरु कमजोर ।” 

           घिमिरेले भनिन्–“महिलाहरु दिनभरी जागिर खाएर आए पनि एक्लै घरको सबै धन्दा सम्हाल्न र बालबच्चाहरुको रेखदेख गर्न बाध्य छन् । तसर्थ जागिरे र पढेलेखेका महिलाहरु समेत पूर्ण रुपमा पुरुषबाट शोषण मुक्त छैनन् ।” “धनी परिवारमा भन्दा गरीब परिवारमा महिलाहरुको स्थिति गम्भीर होला नि त ?” भनेर प्रश्न गर्दा उनले तेस्तो नभएर धनी तथा मध्यम परिवारमा झन् महिला–पुरुषबीच बढी शोषण हुने गरेको अनुभव बताईन् । “गरीब परिवारमा दुई छाक टार्नै समस्या हुनाले जसले जे काम भेट्यो तेहि गर्छन् । महिला होस् कि पुरुष होस् दुवैले गोठ,घाँस–दाउरा गर्नुका साथै खाना पकाउने सम्म गर्छन् । तर मध्यम तथा सम्पन्न परिवारमा भने महिलालाई र पुरुषलाई निश्चित भूमिका मात्रै दिईएको हुन्छ । खाना पकाउने, बालबच्चा रेखदेख गर्ने कार्यमा मात्रै महिलालाई संलग्न गराइन्छ । ” 
     महिलाको हक–हितका निम्ति यौटा लामो कालखण्ड व्यतित गरेकी दीपा घिमिरे परिवारबाट राम्रो साथ पाएकीमा भने खुसी छिन् । उनी आफ्नो इच्छा यसरी प्रकट गर्छिन् – “सँधै यसरी नै महिला दिदी–बहिनीलाई सहयोग गर्न पाउँ र सबै मिलेर समाजमा लैंगिक भेदभावको अन्त्य गर्न सकौं । ”

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment