२५ वर्षको हुँदा म जे सोच्छु र अनुभव गर्छु ! (एफ. स्कट फिट्जराल्ड)


 


  • २०औं  शताब्दीको एक प्रमुख अमेरिकी उपन्यासकार तथा कथाकार एफ. स्कट फिट्जराल्ड (१८९६-१९४०)लाई २० को दशकमा लोकप्रिय रहेको ‘लस्ट जेनेरेसन’को महत्वपूर्ण सदस्यको रुपमा पनि लिइन्छ । उनको आख्यानहरूमा विशेष गरी ज्याजकालको उत्कृष्ट चित्रण पाइन्छ । उनी २४ वर्षको हुँदा सन् १९२० मा उनको पहिलो उपन्यास ‘दिस साइड अफ प्याराडाइज’ प्रकाशित भएको थियो जसलाई उनले  आफू आर्मी क्याम्पमा हुँदादेखि नै १९१७ बाट लेख्न थालेका थिए । उनको आफ्नै जीवनमा आधारित रहेको यो उपन्यास निकै सफल भएको थियो । यहाँ प्रस्तुत गरिएको निबन्ध ‘ह्वाट आइ थिंक एण्ड फिल एट २५’ फिट्जराल्डले सन् १९२२ मा लेखेका थिए जतिबेला उनको अर्को व्यंग्यात्मक उपन्यास ‘द ब्युटिफुल एण्ड द ड्याम्ड’ का साथै दुई कथासंग्रह समेत प्रकाशित भइसकेका थिए । यसको तीन वर्षपछि उनले आफ्नो सर्वाधिक लोकप्रिय उपन्यास ‘द ग्रेट ग्याट्स्बी’ सार्वजनीक गरेका थिए । फिट्जराल्ड ४४ वर्षको उमेरमा हृदयाघातका कारण बितेका थिए । प्रस्तुत छ अनुप जोशीले नेपालीमा अनुवाद गरेको उनको निबन्ध ‘ह्वाट आइ थिंक एण्ड फिल एट २५’को नेपाली अनुवाद  : 

ती बूढा मान्छेले मलाई बीचबाटोमै रोके । हेर्दा उनी प्राचीनकालको जस्तो देखिन्थे तर उनी कुनै नाविक भने थिएनन् । उनका दाह्री निकै लामो थियो र उनका आँखामा चमक थियो । मलाई लाग्छ उनी हाम्रो परिवारको मित्र वा त्यस्तै कोही थिए ।

‘भन, फिट्जराल्ड’, उनले भने, ‘के तिमी मलाई एउटा कुरा भन्छौ? तिम्रो उमेरको मान्छेले सधैं निराशावादी कुराहरू नै भन्नुपर्ने कारण के छ? लौ भन त?’, मैले उनलाई हाँसेर उँडाउन खोजें । उनले मेरो हजुरबुवा र आफू बाल्यकालका साथी भएको बताए । त्यसपछि उनलाई अरु मतिभ्रष्ट पार्ने इच्छा मलाई जागेन । त्यसैले उनलाई हाँसेर टार्न खोजें ।

‘हा-हा-हा’, मैले निश्चिन्तताका साथ भनें । ‘हा-हा-हा’ र त्यसपछि फेरी थपें, ‘हा-हा, ठीक छ तपाईंसँग फेरी भेटौंला’

यति भनेर मैले उनीबाट उम्कन खोजें, तर उनले दृढताका साथ मेरो पाखुरा समाते र त्यो दिन मसँगै बिताउन चाहेको संकेत दिए ।

‘जब म तिम्रो उमेरको थिएँ...’, उनले भन्न सुरु गरे र त्यसपछि मान्छेहरूले जसरी आफू २५ वर्षको हुँदा निकै उत्कृष्ट, खुसी र बेफिक्र भएको चित्रित गर्ने गर्छन्, उनले पनि आफ्नो त्यस्तै खालको संस्मरण प्रस्तुत गरे । कुनै पनि मान्छेको लागि उसको विगत अस्पष्ट हुन्छ र खासमा त्यसबेला उनले मलाई आफ्नो विगतबारे यस्तो छवि प्रस्तुत गरेका थिए जुन उनी अहिले चाहन्छन् कि विगतमा आफू त्यस्तै थिएँ ।

मैले उनलाई उनका कुराहरू भन्न दिइरहें । बीचबीचमा आश्चर्य व्यक्त गरेजस्तो गर्नका लागि मैले विनम्रतापूर्वक अभिव्यक्ति पनि दिइरहें । लाग्यो कि कुनै दिन म पनि उनले जस्तै गर्नेछु । म आफ्ना अनुजहरूका लागि यस्तो ‘स्कट फिट्जराल्ड’को छवि प्रस्तुत गर्नेछु, जसलाई त्यसबेलाका मेरा कुनै पनि समकालीन मित्रहरूले चिन्नेछैनन् । तर उनीहरू आफैं पनि त्यसबेला बूढा हुनेछन् र मैले प्रस्तुत गरेको आफ्नो रुपलाई उनीहरूले सम्मान गर्नेछन् किनभने मैले पनि उनीहरूले आफ्नो विगतलाई लिएर निर्माण गरेको छविलाई स्वीकार गर्नेछु ।

‘र अब’, ती खुसी प्राचीन व्यक्तिले निष्कर्ष निकालिरहेका थिए, ‘तिमी जवान छौ, स्वास्थ्य पनि राम्रो छ, पैसा कमाएका छौ, दाम्पत्य जीवन पनि सुमधुर छ । तिमीले यति कम उमेरमै उल्लेख्य सफलता हाँसिल गरिसकेका छौ—अब तिमी के यो बूढो अज्ञान मानिसलाई भन्छौ कि किन तिमी त्यस्तो निराशावादी कुराहरू लेख्ने गर्छौ?’

अन्ततः मैले आत्मसमर्पण गरें कि म उनलाई त्यस कुरा प्रष्ट पार्नेछु । मैले भन्न सुरु गरें :

‘हेर्नुस् महाशय, मलाई के लाग्छ भने एउटा मान्छे जब हुर्किंदै जान्छ ऊ झन्झन् असुरक्षित हुँदै---'

तर म त्यसभन्दा अगाडि बढिनँ । मैले त्यति भन्न मात्र के सुरु गरेको थिएँ उनले हतारहतार मसँग हात मिलाए र आफ्नो बाटो लागे । उनले मेरो कुरा सुन्न चाहेनन् । ती बूढा मान्छेलाई कुनै मतलब थिएन कि मैले किन त्यस्तो विचार राख्ने गर्छु । उनलाई भाषण ठोक्नका लागि एउटा मुर्गा चाहिरहेको थियो र त्यसको शिकार म भएँ ।

‘तिम्लाई बूढा, ठीक छ’, मैले मनमनै भनें, ‘नसुने नसुन ! यसै पनि तिमीले मेरो कुरा बुझ्दैनथ्यौ’ । मैले झोंकमा बाटोको एउटा इँटालाई एक लात्ती हानें र आफ्नो बाटो लागें ।

यो त पहिलो घटना थियो । अब म तपाईंलाई दोस्रो घटना सुनाउँछु । धेरै पहिलेको कुरा होइन, एउटा ठूलो पत्रिकाबाट एउटा पत्रकार मकहाँ आयो र भन्यो :

‘फिट्जराल्डजी, न्युयोर्कमा एउटा हल्ला चलेको छ कि तपाईं  र तपाईंकी श्रीमती ३०  वर्ष पुगेपछि आत्महत्या गर्दै हुनुहुन्छ किनभने तपाईंहरू अधवैंशे उमेरलाई घृणा गर्नुहुन्छ’

‘यता सुन्नुस् !’, मैले निकै जंगिएर भनें, ‘त्यो हल्लामा कुनै सत्यता छैन । कत्ति पनि छैन । जब म ३०  वर्षको हुनेछु म अहिलेको ‘म’ हुनेछैन – म अर्कै कोही हुनेछु । त्यसबेला सबै कुरामा मेरो दृष्टिकोण बेग्लै हुनेछ र मेरो अर्कै शरीर हुनेछ किनभने मैले पढेको एउटा पुस्तकमा त्यस्तै भनिएको छ । यतिसम्म कि म त्यसबेला अर्कै व्यक्तिसँग विवाहित हुनेछु !’

‘ओहो!’ उसले उत्सुकतापूर्वक मलाई बीचैमा रोक्यो र आफ्नो नोटबुक निकाल्यो । ‘यो त निकै रोचक कुरा गर्नुभयो’

‘होइन, होइन, होइन !’, मैले आवेशमा कराएँ, ‘मेरो मतलब त्यसबेला मेरी श्रीमती अर्कै हुनेछिन्’

 ‘मैले बुझें । तपाईं छोडपत्रको तयारीमा हुनुहुन्छ...’

जब मैले पुस्तक समीक्षकहरूलाई मन नपर्ने केही भन्थें, उनीहरूले भन्न सक्थे, ‘उफ्फ़! यो आलोकाँचो नै छ!’ र त्यसले मलाई ध्वस्त पारिदिन्थ्यो । ‘आलोकाँचो’ मात्रै भनिदिनुहोस् त्यो काफी थियो ।

‘यता हेर्नुस्!’, आवेगमा आएर मैले उसलाई बीचैमा रोकें । ‘बुझ्ने प्रयास गर्नुस्...मैले सधैं बूढो हुनुपर्छ भनेर भयवित गरेको छु किनभने त्यसले निश्चित रुपमा असुरक्षा बढाउँ....'

तर ती पारिवारिक मित्रको हकमा जस्तै मैले यहाँ पनि अगाडि बढिनँ । त्यो पत्रकार भनाउँदोले मेरो हात बेस्सरी समात्यो र हल्लायो । त्यसपछि उसले कोरस गाउने एउटी केटीको अन्तर्वार्ता लिनका लागि आफूलाई हतार भएको बतायो जोसँग एउटा प्लाटिनमको पायल छ भन्ने चर्चा चलेको थियो ।

यो दोस्रो घटना थियो । तपाईंले देख्नुभयो होला कि मैले दुई फरक व्यक्तिहरूलाई ‘उमेरसँगै असुरक्षा पनि बढ्छ—‘ भनेर भन्न खोजेको थिएँ तर उनीहरू त्यो सुन्नमा उत्सुक भएनन् । बूढो मान्छेले आफ्नै बारेमा मात्र कुरा गर्यो र पत्रकारले सनसनीपूर्ण कुराहरूमा मात्रै रुचि देखायो । मैले ‘असुरक्षा’को बारेमा कुरा गर्न थाल्नेबित्तिकै ती दुवै व्यक्ति अचानक केही न केही कुरामा व्यस्त देखिए...

यो भन्नु निकै तर्कसंगत हुन्छ कि मान्छे बूढो हुँदै जाँदा उसमा असुरक्षा पनि बढ्दै जान्छ । उदाहरणका लागि, तीन वर्ष अघिसम्म म एउटै कुराले मात्र दुखी हुनसक्थें – त्यो हो आफैबाट । त्यसबेला यदी मेरो सबैभन्दा मिल्ने साथीको श्रीमतीको कपाल इलेक्ट्रिक वासिंग मेशिनले च्यापेको थियो भने, म अवश्य पनि शोकाकुल हुन्थें । मेरो साथीलाई मैले सान्त्वनास्वरूप निकै लामो भाषण पनि दिन्थें र वासिंगटनको विदाई सम्बोधनबाट एक हरफ उल्लेख गरेर आफ्नो समवेदना-भाषणको अन्त्य गर्थ्यें । तर त्यसपछि म कुनै राम्रो रेस्टुराँमा गएर सधैंजस्तो गरी भोजनको आनन्द लिन सक्थें । यदि मेरो भान्जीदिदीको श्रीमानको नङ मनिक्योर गर्दागर्दै उनको एउटा धमनीले काम गर्न छाड्यो भने म नकार्दीन कि त्यो मेरो लागि निकै ठूलो वेदनाको विषय हुनेछ । तर त्यो खवर पाउँदा म बेहोस त पक्कै हुन्थिनथें र तपाईंले मलाई ठेलागाडामा हालेर घर लैजानुपर्ने अवस्था आउँदैनथ्यो ।

वास्तवममा भन्ने हो भने म त्यतिबेला निकै सुरक्षित थिएँ । कतै पानीजहाज डुब्यो वा रेल दुर्घटनामा पर्यो भने मैले सामान्य विलाप त गर्थें, तर मलाई लाग्दैन कि सिकागो ध्वस्त भयो भने पनि जबजम्म मलाई लाग्दैनथ्यो कि अब म बस्ने सहर सेन्ट पलको ध्वस्त हुने पालो आएको छ, तबसम्म त्यो खवर पाएर मेरो रातको निद्रा बिथोलिदैनथ्यो । यदि मेरो सहर नै ध्वस्त हुन लागेको हुन्थ्यो भने पनि म आफ्नो झोला बोकेर नजिकैको अर्को सहरमा जान्थे र रातभर आनन्दले निदाउँथें ।

तर यो सब तीन वर्ष अगाडिको कुरा हो जब म अझै एउटा जवान व्यक्ति थिएँ । जब मैले पुस्तक समीक्षकहरूलाई मन नपर्ने केही भन्थें, उनीहरूले भन्न सक्थे, ‘उफ्फ़! यो आलोकाँचो नै छ!’ र त्यसले मलाई ध्वस्त पारिदिन्थ्यो । ‘आलोकाँचो’ मात्रै भनिदिनुहोस् त्यो काफी थियो ।

तर अहिले भने म २५ वर्षको भइसकेको छु र म अब आलोकाँचो छैन—कमसेकम मैले आफूलाई एउटा साथारण ऐनामा हेर्दा आफूलाई आलोकाँचो पाउँदिन । त्यसको ठाउँमा म अहिले असुरक्षित छु । म हरेक तरिकाले असुरक्षित छु ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment