बीस वर्षपछि (ओ. हेनरी) [कथा]


 

अमेरिकी साहित्यका सर्वाधिक लोकप्रिय कथाकार ओ. हेनरी (१८६२-१९१०)को वास्तविक नाम विलियम सिड्नी पोर्टर हो । उनको नाम कसरी ओ. हेनरी रह्यो भन्नेबारे अझै पनि इतिहासकारहरूबीच मतभेद रहने गरेको छ । कत्तिले यो नाम उनको हेनरी नामको बिरालोबाट आएको दाबी गर्छन् भने कत्तिले 'ओ.'लाई केही कुराको संक्षिप्त रुप भएको दाबी गर्छन् । ओ. हेनरीले भने न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा हेनरी नाम आफूले पत्रिकामा भेटेको र 'ओ' प्रयोग गर्नको लागि सजिलो अक्षर भएकाले नाममा राखेको बताएका थिए ।

उनले ६०० भन्दा बढी कथा रचेका छन् भने उनका कथाहरू रोचक अन्त्यका लागि प्रसिद्ध छन् । उनका प्रसिद्ध कथाहरूमा 'द गिफ्ट अफ मागी', 'द र्यान्सम अफ रेड चिफ' र 'द लास्ट लिफ' पर्छन् । अस्टिनको पहिलो राष्ट्रिय बैंकमा काम गर्दैगर्दा सन् १८९४ मा उनलाई पैसा हिनामिना गरेको अभियोग लागेको थियो । यस मुद्दाबाट बच्न उनी सन् १८९६ मा होन्डुरास फरार भएका थिए । तर उनी एक वर्षपछि अस्टिन फर्किदा उनको अभियोग प्रमाणित भएकाले उनलाई गिरफ्तार गरिएको थियो र उनले तीन वर्षको जेलसजाय काट्नुपरेको थियो । जेलमा रहँदा उनी लेखनमा केन्द्रित भएका थिए र त्यतिबेला नै उनले आफ्नो साहित्यिक नाम राखेका थिए । प्रस्तुत छ हेनरीको कथा 'आफ्टर ट्वेन्टी इयर्स'को अंग्रेजीबाट नेपालीमा गरिएको अनुवाद; 'बीस वर्षपछि' : 

एउटा प्रहरी अधिकारी निकै फुर्तीका साथ सडकमा गस्ती गरिरहेको थियो । ऊ कसैलाई देखाउन नभएर स्वभावैले फुर्तिलो खालको थियो । सुनसान सडकमा आखिर आफ्नो रवाफ देखाओस् पनि कसलाई ! रातको लगभग १० मात्रै बज्न लागेको थियो होला तर पानीको छिटासहित बेस्सरी चिसो हावा चलेको कारण सडकमा आवतजावत गर्ने मान्छेहरूको संख्या अत्यन्तै न्यून थियो ।

निकै कलात्मक तवरले आफ्नो डण्डा घुमाउँदै चनाखो भएर गस्ती गरिरहेको उक्त प्रहरी अधिकारी शान्तिको रक्षक नै देखिन्थ्यो । एकाध चुरोट पसल र रात्रि भोजनालयबाट निस्केको उज्यालोबाहेक सबैतिर चकमन्न अँध्यारो थियो र अधिकांश व्यापारीहरू पसलका ढोका बन्द गरेर गइसकेका थिए । 

एउटा हार्डवेयरको पसल नजिक पुगेपछि प्रहरी अधिकारीले आफ्नो हिंडाइको गति कम गर्यो । जब ऊ उक्त अँध्यारो हार्डवेयर पसलको ढोकानजिक पुग्यो, तब उसले त्यहाँ एउटा मान्छे देख्यो । त्यस मान्छे आफ्नो ओठमा नसल्काइसकेको चुरोट च्यापेर ढोकामा अडेस लागेर उभिएको थियो । 

प्रहरी अधिकारी आफू भएतिर आएको देखेपछि त्यस मान्छेले विश्वास दिलाउँदै भन्यो, 'सबै कुरा ठीक छ साब ! म यहाँ मेरो एउटा साथीलाई पर्खिरहेको छु । हामीले बीस वर्षअघि आजकै दिन यही ठाउँमा यही समयमा भेट्ने वाचा गरेका थियौं ।' 

'तपाईंलाई मेरो कुरा अजीव लाग्यो होला, होइन त ? तर यही नै सत्य हो। तपाईंलाई पत्यार लाग्दैन भने म सविस्तार सबै कुरा बताउनेछु । २० वर्षअगाडि यो हार्डवेयर पसल भएको ठाउँमा एउटा 'बिग जो' नाम गरेको रेस्टुराँ थियो ।'

'हो, पाँच वर्ष अघिसम्म यहाँ त्यो रेस्टुराँ थियो', प्रहरी अधिकारीले भन्यो, 'तर त्यसपछि त्यसलाई भत्काइएको थियो ।' 

ढोकामा उभिरहेको त्यस मान्छेले सलाई कोर्यो अनि चुरोट सल्कायो । सलाई बलेको उज्यालोमा प्रहरी अधिकारीले त्यस मान्छेको अनुहार देख्यो । उसको अनुहार पहेंलो थियो, आँखामा चमक थियो । दाहिने आँखीभौंको नजिकै एउटा सानो दाग थियो । उसले लगाएको टाईमा एउटा ठूलो हिरा अजीव तरिकाले जडित थियो ।

त्यस मान्छेले फेरि भन्न सुरु गर्यो, 'आजभन्दा ठीक २० वर्षअगाडि मैले यस्तै एउटा रातमा आफ्नो सबैभन्दा मिल्ने साथी जिमी वेल्ससँग 'बिग जो' रेस्टुराँमा बसेर खाना खाएको थिएँ । हामी दुवै जना दाजुभाइजस्तै गरी यहीं न्युयोर्कमा हुर्केका थियौं । त्यतिबेला म १८ वर्षको थिएँ र जिमी २० वर्षको थियो । भोलिपल्ट बिहान म रोजगारीका लागि पश्चिमतर्फ जानेवाला थिएँ । तर जिमी भने न्युयोर्क छाडेर कहीं जान तयार थिएन ।'

'त्यस रात हामीले यो निर्णय गरेका थियौं कि भोलिपल्ट हामी अर्को २० वर्षका लागि एक-अर्काबाट टाढिनेछौँ । यी वर्षहरूमा हामी जीवनमा केही बन्नको लागि संघर्ष गर्नेछौं र जे-जे बन्न सक्नेछौं, त्यो बन्नेछौं । ठीक २०  वर्षपछि हामी यही समयमा यही ठाउँमा भेट्नेछौं, चाहे त्यसको लागि हामीलाई जतिसुकै टाढाबाट किन आउन नपरोस् वा हाम्रो जस्तोसुकै परिस्थिति किन नहोस् !'

यो सबै सुनेपछि त्यस प्रहरी अधिकारीले भन्यो, 'निकै रमाइलो कुरा पो सुनाउनुभयो तपाईंले ! तर के तपाईंलाई जिमीबाट अलग भएपछि उसको बारेमा केही पनि थाहा भएन ?'
'केही समयसम्म त हामीले एक अर्कालाई चिठ्ठी पठाइरह्यौं, तर त्यो केवल एक-दुई वर्षसम्म मात्र जारी रह्यो र त्यसपछि हामी एकअर्काको सम्पर्कबाट टाढा भयौं । हेर्नुस् ! पश्चिम निकै ठूलो ठाउँ हो र म त्यहाँ जीविकोपार्जन गर्ने क्रममा कहिले कता, कहिले कता भौंतारिरहेको हुन्थें । तर मलाई पूरा विश्वास छ कि यदि जिमी जिउँदै छ भने ऊ पक्कै पनि मलाई भेट्न आउनेछ । ऊ मेरो लागि संसारकै सबैभन्दा धेरै मिल्ने साथी थियो । म एक हजार किलोमिटरको दूरी पार गरेर उसलाई भेट्न आएको छु र यदि ऊ आयो भने मेरो लागि त्यो नै सबैभन्दा ठूलो कुरा हुनेछ ।'

यति भनेर त्यस मान्छेले आफ्नो बहुमूल्य घडी हेर्यो । घडीको वरिपरि ससाना हिराहरू जडित थिए । उसले भन्यो, '१०:०० बज्नलाई ०३ मिनेट मात्र बाँकी छ । हामी रेस्टुराँको ढोकाबाट छुट्टिंदा ठ्याकै १०:०० बजेको थियो ।' 

'पश्चिममा गएर तपाईंले निकै प्रगति गर्नुभयो, होइन त ?', प्रहरी अधिकारीले सोध्यो ।

'पक्कै पनि ! मलाई आशा छ, जिमीले पनि राम्रै गरिरहेको होला ।'

यति सुनेपछि प्रहरी अधिकारीले आफ्नो डण्डा घुमाउँदै केही कदम अगाडि पछाडि गर्यो ।

'म आफ्नो बाटो लाग्छु अब । कामना गर्छु कि तपाईंको साथी चाडै आओस्', त्यसपछि त्यो प्रहरी त्यहाँबाट गयो ।

अब झन् हावा तेज गतिमा चल्न थालेको थियो र एकाध संख्यामा रहेका पदयात्रीहरू जाडोले कक्रक्क परेर आफ्नो ओभरकोटको कलरलाई माथिसम्म पुर्याएका थिए र गोजीमा हात कोचेका थिए । हार्डवेयर पसलको ढोकामा अडेस लागेर उभिरहेको त्यो मान्छे आफ्नो यौवनावस्थाको साथी आउला कि नआउला भन्ने कल्पिंदै चुरोट तान्दै पर्खिरहेको थियो । 

करिब २० मिनेटपछि एउटा अग्लो मान्छे ऊ भएतिर आयो । उसले ओभरकोट लगाएको थियो र कलरले कानहरू ढाकेको थियो । ऊ पर्खिरहेको मान्छे भएको ठाउँमा गयो र सिधै सोध्यो, 'के तिमी बब हौ ?'

'हो । के तिमी जिमी वेल्स हौ ?' प्रतीक्षारत मान्छेले खुसी भएर चिच्याएको स्वरमा भन्यो ।

त्यो अग्लो मान्छेले हर्षका साथ उसको हात आफ्नो हातले थाम्यो र भन्यो, 'धन्य हौ भगवान ! बब, म निश्चिन्त थिएँ कि यदि तिमी जीवितै थियौ भने मैले पक्कै पनि तिमीलाई यहीं पाउनेछु । यदि पहिलेजस्तै यहाँ रेस्टुराँ भइदिएको भए आज पनि हामीले २० वर्षअघि जस्तै गरी यहीं खाना खान हुन्थ्यो । पश्चिममा तिम्रो जीवन कस्तो भइरहेको छ त बब ?

'दामी भइरा'छ ! मैले जे-जे चाहेको थिएँ सबै कुरा पाएको छु । जिमी, तिमी त निकै फेरिएका रहेछौ । मैले कहिल्यै कल्पना गरेको थिइनँ कि तिमी यति अग्लो होउला भनेर !'
'है ! म बीस कटेपछि धेरै बढें नि त !'

'तिमी पनि न्युयोर्कमा राम्रो गरिरहेको छौ नि जिमी ?'

'ठीकठीकै छ । मैले सहर विभागमा काम पाएको छु । हिंड बब ! अब मैले चिनेको एउटा राम्रो ठाउँमा गएर बसौं अनि मज्जाले बितेका दिनहरूबारे कुरा गरौँला !'
त्यसपछि दुवै जना मित्रवत् शैलीमा एकअर्कालाई अंगालो हाल्दै अगाडि बढे । 

पश्चिमबाट सफल भएर आएको साथी निकै फुर्तीका साथ आफ्नो सफलताको कथा सुनाइरहेको थियो । अर्को साथी भने जाडोले आफ्नो ओभरकोटमा कक्रक्क पर्दै चाख लिएर सुनिरहेको थियो । 

एउटा औषधि पसलबाट गुज्रदै गर्दा त्यो पसलको झिलिमिली उज्यालोमा उनीहरूले एक अर्काको अनुहार राम्रोसँग देखे । 

बबलाई त्यस अग्लो मान्छेको अनुहार देखेर केही सन्देह पैदा भयो र ऊ टक्क अडियो अनि त्यस मान्छेको काँधबाट आफ्नो हात तल झार्यो । त्यसपछि उसले रिसको झोकमा सन्किदै भन्यो, 'तपाईं जिमी वेल्स होइन । म मान्छु कि २० वर्षको समय निकै धेरै हुन्छ, तर यति धेरै पनि हुँदैन कि एउटा मान्छेको नाक थेप्चोबाट चुच्चो होस् !'

जवाफमा त्यो अग्लो मान्छेले भन्यो, 'त्यस्तो हुन्छ कि हुँदैन मलाई थाहा छैन । तर २० वर्षमा एउटा असल मान्छे खराब बन्न भने सक्दो रहेछ । २० वर्षअगाडि तिमी एउटा असल मान्छे थियौ तर आज एउटा खराब मान्छे भएका छौ । तिमी प्रहरीको पक्राउमा परेका छौ बब ! थानामा जानुअघि लौ यो कागज लेऊ र पढ !'

बबले कागजको टुक्रा अग्लो मान्छेको हातबाट लियो र पढ्न थाल्यो । पत्र छोटो थियो र जब उसले पूरै पढिसक्यो तब डरले उसको हात काँप्न थाल्यो । 

कागजमा लेखिएको थियो – 'बब ! हामीले जहाँ भेट्ने वाचा गरेका थियौं, त्यहाँ म बिल्कुल ठीक समयमा आइपुगेको थिएँ । तर जब तिमीले चुरोट सल्काउनको लागि सलाई कोर्यौ, तब मैले तिम्रो अनुहार देखेर आश्चर्यमा परें कि तिमी त्यही मान्छे हौ जसलाई शिकागोको प्रहरीले खोजिरहेको छ ।'

मैले तिमीलाई त्यही क्षण नै गिरफ्तार गर्नुपर्ने थियो तर तिमी मेरो प्यारो साथी भएकोले मैले त्यसो गर्ने सकिन । अहिले मैले प्रहरीकै अर्को कर्मचारीलाई सादा पोसाकमा तिमीलाई गिरफ्तार गर्न पठाएको छु । 
- जिमी' 

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment