भिजेको बिरालो (अर्नेस्ट हेमिंग्वे)



  • सन् १९५४ को साहित्यतर्फको नोबेल पुरस्कार बिजेता अर्नेस्ट हेमिंग्वे (सन् १८९९-१९६१) एक अमेरिकी पत्रकार, उपन्यासकार तथा कथाकार थिए । २०औं शताब्दीको आख्यानमा उनले प्रतिपादन गरेको 'आइसबर्ग' सिद्धान्तको निकै प्रभाव रहेको पाइन्छ । यस सिद्धान्तका अनुसार आख्यान लेखनमा सबै कुरालाई सतहमा नल्याएर थोरै कुराहरूमार्फत नै धेरै कुराहरू अभिव्यक्त गर्न खोज्नुपर्छ । समुद्रमा तैरिरहेको 'आइसबर्ग'को केवल १/८ भाग मात्र बाहिर देखिन्छ भने बाँकी भाग भित्रै रहेको हुन्छ । हेमिंग्वेका अनुसार कथाको भित्री अर्थ सतहमा पूर्ण रुपमा देखिनु हुँदैन, चम्किनु मात्र पर्दछ । थोरै कुरा कथामा उल्लेख गरेर त्यसबाट धेरै 'थीम'हरू दिनसक्नु हेमिंग्वेको खुबी हो।हेमिंग्वेका १० वटा उपन्यास १० कथासंग्रह र ५ गैरआख्यान कृतिहरू प्रकाशित छन् । उनको 'ओल्ड मेन एण्ड द सी', 'अ फेयरवेल टु द आर्म्स' र 'द सन् अल्सो राइजेज' उपन्यासहरूलाई विश्वसाहित्यकै महत्वपूर्ण कृतिको रुपमा लिइन्छ । सन् १९५२ मा अफ्रीकाको सफारीमा गएका उनी लगातार दुईवटा हवाई दुर्घटनामा परेका थिए जसले गर्दा उनलेबाँकी जीवन पीडा र अस्वस्थताका बीच बिताउनुपर्यो । उनले सन् १९६१ मा आफैले आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गर्न पुगे । प्रस्तुत छ २० औं शताब्दीका महत्वपूर्ण लेखक अर्नेस्ट हेमिंग्वेको कथा 'क्याट इन द रेन'को अनुप जोशीले नेपालीमा गरेको अनुवाद 'भिजेको बिरालो' :

इटालीको त्यो होटलमा केवल दुई अमेरिकी मात्र थिए । कोठाबाट तल आउँदा-जाँदाको समयमा सिढीमा भेटिने मानिसहरूमध्ये उनीहरू कसैलाई पनि चिन्दैनथे । उनीहरूको कोठा दोस्रो तल्लामा थियो र समुद्रतर्फ फर्किएको थियो । त्यहाँबाट एउटा सार्वजनिक बगैंचा र एउटा युद्धको स्मारक पनि देख्न सकिन्थ्यो । सार्वजनिक बगैंचामा ठूला-ठूला ताडका रुखहरू र हरिया बेन्चहरू थिए । मौसम राम्रो भएको बेला त्यहाँ जहिले पनि आफ्नो इजलसहित एउटा कलाकार बस्थ्यो । कलाकारहरू बगैंचामा ताडका वृक्षहरू हुर्किएको र समुद्रतर्फ फर्किएका होटलहरूका चम्किला रंग  निकै मन पराउँथ्ये । युद्धको त्यो स्मारक हेर्न भनेर टाढा-टाढाबाट इटालियन नागरिकहरू आउँथे जुन काँसबाट बनेको थियो र पानी परेको बेला टल्किन्थ्यो ।


पानी परिरहेको थियो । ताडका रुखहरूबाट पानीका थोपाहरू झरिरहेका थिए । कच्ची बाटामा भएका खाल्डाखुल्डीमा पानी भरिएको थियो । वर्षातमा समुद्र पनि तटीय रेखालाई तोड्दै अगाडि बढ्दै, पछाडि हट्दै र फेरी तटीय रेखालाई तोड्न भनेर अगाडि बढ्थ्यो । सबै मोटर-कारहरू युद्धस्मारक हुँदै प्राङ्गणबाट गइसकेका थिए । प्राङ्गणको अर्कोपट्टि रहेको क्याफेको ढोकामा एक वेटर खाली प्राङ्गण बाहिर हेर्दै उभिरहेको थियो ।

अमेरिकी श्रीमती उठी र झ्यालबाट बाहिर हेर्न थाली । उसको झ्यालको ठीक तल एउटा बिरालो हरियो टेबलको मुनि कक्रक्क परेर बसेको थियो । बिरालो आफूलाई कुचुक्क पारेर खुम्च्याउन खोजिरहेको थियो ता कि लगातार परिरहेको पानीमा नभिजोस्।

‘म तल जान्छु र त्यो बिरालोलाई लिएर आउँछु’, अमेरिकी श्रीमतीले भनी ।

‘मै लिएर आउँला’, उसको श्रीमानले ओछ्यानबाटै प्रस्ताव राख्यो ।

‘होइन, म नै ल्याउँछु । बिचरा ! त्यो दु:खी बिरालो टेबलमुनि लुकेर पानीबाट आफूलाई बचाउने प्रयास गरिरहेको छ’

दुईटा सिरानीमा आफ्ना खुट्टाहरू पसारेर ओछयानमा पल्टिरहेको श्रीमानले आफ्नो किताब पढ्न जारी राख्यो ।

‘पानीमा नभिज है’, उसले भन्यो ।

श्रीमती सिंढीबाट तल झरी र ऊ अफिसको अगाडिबाट गुज्रदै गर्दा होटल-मालिक कुर्सीबाट उठ्यो र उसले झुकेर अभिवादन गर्यो । उसको टेबल अफिसको दूर भागमा थियो । ऊ एक वृद्ध व्यक्ति थियो र निकै अग्लो थियो ।

‘पानी परिरहेको छ’,श्रीमतीले इटालियन भाषामा भनी । उसलाई होटल मालिक मन पर्थ्यो ।

‘हो हो, सिग्नोरा, मौसम निकै खराब छ’


ऊ मधुरो प्रकाश भएको कोठाको दूर भागमा आफ्नो टेबलको पछाडि उभिएको थियो । श्रीमतीलाई ऊ मन पर्यो। जुनसुकै गुनासोलाई पनि गम्भीरताका साथ लिने होटल मालिकको बानी उसलाई मन पर्थ्यो । ऊ जुन रुपमा उसलाई सेवा प्रदान गर्न तत्पर हुन्थ्यो, त्यसलाई उसले मन पराउँथी । होटल मालिक भएकाले उसले जुन अनुभूति गर्थ्यो त्यसलाई पनि ऊ मन पराउँथी । उसको भारी, वृद्ध अनुहार र ठूला हातहरू उसलाई राम्रा लाग्थे।

होटल मालिकलाई मन पराउँदै उसले ढोका खोली र बाहिर हेर्न लागी । पहिलेभन्दा भारी वर्षा भइरहेको थियो । एउटा मान्छे गलबन्दी लगाएर सुनसान प्राङ्गणलाई पार गर्दै क्याफेतर्फ अगाडि बढिरहेको थियो । बिरालो दाहिनेतर्फ कतै थियो । सायद ऊ भित्ताभन्दा बाहिर निस्केको भागतिर कतै घुसेको थियो । जसै ऊ ढोकामा उभिई, उसको पछाडि एउटा छाता खुल्यो । त्यो नोकर्नी थिई जो उसको कोठाको हेरचाह गर्थी ।

‘तपाईं भिज्नुहुँदैन’, इटालियन भाषामा बोल्दै ऊ मुस्कुराई । पक्कै पनि होटल मालिकले उसलाई पठाएको थियो । नोकर्नीले आफ्नो हातमा छाता समात्दै उसलाई ओढाइदिई र ऊ नोकर्नीसँग छाता ओढ्दै कच्ची सडकमा आफ्नो कोठाको झ्यालको तलसम्म पुगी । टेबल त्यहीं थियो, पानीले गर्दा पूरै भिजेको । तर बिरालो भने त्यहाँबाट गइसकेको थियो । ऊ अचानक निकै निराश हुन पुगी । नोकर्नीले ऊ तर्फ हेरी ।

‘केही कुरा हरायो होहजुर ?’, उसले इटालियन भाषामा सोधी ।

‘यहाँ एउटा बिरालो थियो’, अमेरिकी केटीले भनी ।

‘बिरालो ?’

‘हो, एउटा बिरालो’

‘बिरालो पो?’, नोकर्नी हाँसी । ‘वर्षातमा एउटा बिरालो ?’

‘हो’, उसले भनी, ‘टेबलको मुनि’, ‘मैले उसलाई निकै चाहेकी थिएँ, म एउटा बिरालो (किट्टी) चाहन्थें’

जब ऊ अंग्रेजीमा बोल्थी तब नोकर्नीको अनुहार असामन्जस्यतामा पर्थ्यो ।

‘आउनुस्, हजुर’, उसले इटालियन भाषामा भनी, ‘हामी अब भित्र फर्किनुपर्छ । फेरी तपाईं भिज्नुहुनेछ’

‘हो त्यो त’, अमेरिकी केटीले भनी ।

उनीहरू कच्ची बाटोबाट फर्किंदै ढोकाभित्र पसे । नोकर्नी छाता बन्द गर्नका लागि बाहिर नै बसी । जसै अमेरिकी स्त्री अफिसको अगाडिबाट गुज्री, होटल मालिकले आफ्नो टेबलबाट अभिवादन गर्यो । केटीले आफूभित्र केही सामान्य तर कसिलो अनुभूति महसुस गरी । होटल मालिकले उही क्षण उसलाई निकै सानी तर निकै महत्वपूर्ण भएको महसुस गरायो । पलभरका लागि उसलाई आफू सबैभन्दा महत्वपूर्ण हुनुको सुखद अनुभूति भयो । ऊ सिंढी हुँदै माथि गई र उसले आफ्नो कोठाको ढोका खोली । जर्ज आफ्नो ओछ्यानमा पढिरहेको थियो ।

‘तिमीले बिरालो भेट्यौ त ?’, उसले किताब तल राख्दै भन्यो ।

‘ऊ गइसकेको थियो’

‘अचम्म, ऊ कहाँ गयो होला’, उसले पढाइबाट आफ्ना आँखालाई आराम दिंदै भन्यो ।

ऊ ओछ्यानमा बसी ।

‘मैले उसलाई निकै चाहेकी थिएँ’, उसले भनी, ‘मलाई थाहा छैन कि मैले किन उसलाई त्यति धेरै चाहेकी थिएँ । त्यो बिचरो बिरालोलाई म वास्तवमै चाहन्थें। बाहिर वर्षातमा एउटा दुखिया बिरालो हुनु कुनै रमाइलो कुरा होइन’

जर्जले फेरि पढ्न सुरु गरिसकेको थियो ।

ऊ उठी र ड्रेसिंग टेबलको ऐनाको अगाडि बसी र एउटा हातेऐनामा आफैलाई नियाल्न थाली ।उसले आफ्नो शरीरको बनोटलाई एकपछि अर्को गर्दै हेर्न थाली । त्यसपछि उसले आफ्नो टाउकोको पछाडिको भाग र घाँटीलाई ध्यान दिएर हेरी।

‘यदि मैले आफ्नो कपाल लामो बनाएँ भने त्यो राम्रो हुन्छ जस्तो तपाईंलाई लाग्दैन?’, उसले ऐनामा आफूलाई नियाल्दै जर्जलाई सोधी ।

जर्जले आफ्नो नजर उठायो र उसको घाँटीको पछाडिपट्टि देख्यो। उसको कपाल केटाको जस्तै गरी छाँटिएको थियो ।

‘यो जस्तो छ मलाई त्यस्तै राम्रो लाग्छ’

‘म त यसबाट थाकिसकेकी छु’, उसले भनी, ‘मलाई केटाहरू जस्तै देखिंदा-देखिंदा वाक्कदिक्क लागिसकेको छ’

जर्जले ओछ्यानमा कोल्टे फेर्यो । श्रीमतीले बोल्न सुरु गरेदेखि नै उसले उसको नजर श्रीमतीमा केन्द्रित थियो ।

‘तिमी निकै राम्री देखिन्छ्यौ’, उसले भन्यो ।


उसले आफ्नो हातको ऐना ड्रेसिंग टेबलमा राखी र झ्यालमा गएर बाहिर हेर्न थाली । अध्यारो बढ्दै गइरहेको थियो ।

‘म आफ्नो कपाल पछाडिपट्टि लगेर कसिलो गरी एउटा ठूलो चुल्ठो हुने गरी बाँध्न चाहन्छु जसलाई म महसुस गर्न सकूँ’, उसले भनी । ‘म एउटा बिरालो राख्न चाहन्छु जो मेरो काँखमा बसोस् र मैले उसलाई सुम्सुम्याउँडा ऊ म्याऊँ-म्याऊँ गरोस्’

‘है?’, जर्जले ओछ्यानबाट भन्यो ।

‘र म आफ्नै कमाइले टेबलमा मैनबत्ती बालेर खाना खान चाहन्छु। र म वसन्त ऋतुको बेला पारेर एउटा ऐना सामू बसेर आफ्नो कपाल कोर्न चाहन्छु र म एउटा बिरालो पाल्न चाहन्छु र म केही नयाँ कपडाहरू चाहन्छु’

‘ए, चुप लाग र तिमी पनि केही पढ’, जर्जले भन्यो र ऊ फेरि पढ्न थाल्यो ।

उसको श्रीमती झ्यालबाट बाहिर हेरिरहेकी थिई । अब निकै अध्यारो भइसकेको थियो र ताडका रुखहरूमा अझै पनि पानी परिरहेको थियो ।

‘जे भए पनि मलाई एउटा बिरालो चाहिन्छ’, उसले भनी, ‘म एउटा बिरालो चाहन्छु। मलाई अहिल्यै एउटा बिरालो चाहियो । यदि मकपाल लामो पाल्न सक्दिन वा अरु कुनै रमाइलो गर्न सक्दिन भने पनि कमसेकम एउटा बिरालो त पाउन सक्छु’

जर्जले केही सुनिरहेको थिएन । ऊ आफ्नो किताब पढिरहेको थियो । उसको श्रीमतीले झ्यालबाट बाहिर हेरी । प्राङ्गणमा बत्तीहरू बलिरहेका थिए ।

कसैले ढोका ढक्ढक्यायो ।

‘भित्रै आउनुहोस्’, जर्जले भन्यो । उसले किताबबाट नजर हटाएर माथी हेर्यो ।

ढोकामा नोकर्नी उभिएकी थिई। उसले एउटा ठूलो बिरालो हातमा बोकिरहेकी थिई र त्यसले गर्दा उसको शरीर तल तर्फ झुकेको थियो ।

‘माफ गर्नुहोला’, उसले भनी । ‘होटल मालिकले मलाई यो बिरालो सिग्नोरालाई दिन भन्नुभएको थियो ।’

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment