मोटो र दुब्लो (आन्तोन चेखव)


 


रूसी कथाकार तथा नाटककार आन्तोन चेखव (१८६०-१९०४)लाई इतिहासकै सबैभन्दा महान् कथाकारमध्येमा लिने गरिन्छ । अगस्ट स्ट्रेन्डबर्ग, हेनरिक इब्सेनसँगै चेखवलाई आधुनिक थियटरको महत्वपूर्ण व्यक्तित्वको रुपमा लिइन्छ । आफ्नो जीवनकालमा चिकित्साक्षेत्रमा आबद्ध रहेका उनी चिकित्साशास्त्रलाई आफ्नो कानुनी श्रीमती र साहित्यलाई प्रेमिका बताउने गर्थे । उनका चर्चित नाटकहरूमा 'द चेरी अर्काड', 'थ्री सिस्टर्स' र 'द सिगल' पर्छन् । उनका २०० भन्दा बढी छोटा कथाहरू प्रकाशित छन् भने उनका कथाहरू समीक्षकहरूको रोजाइमा पर्ने गर्छन् । प्रस्तुत छ चेखवको कथा 'फ्याट एण्ड थिन'को अनुप जोशीले गरेको नेपाली अनुवाद 'मोटो र दुब्लो' :





दुई साथीहरू - एक मोटो र एक दुब्लो, निकोलेभ्स्की स्टेसनमा भेट भए । मोटो व्यक्तिले भर्खरै मात्र स्टेसनमा भोजन गरेको थियो र उसका चिल्ला ओंठ पाकेका चेरी जस्तै चम्किरहेका थिए । उसबाट अलिअलि वाइनको गन्ध पनि आइरहेको थियो । दुब्लो व्यक्ति भने भर्खरै मात्र रेलबाट झरेको थियो र बाकस र ठूलाठूला झोलाहरूमा टनाटन सामान ल्याएको थियो । उसबाट कफीको गन्ध आइरहेको थियो । ऊ सँगै लामो चिउँडो भएकी उसकी दुब्ली श्रीमती र स्कुलमा पढ्दै गरेको एक अग्लो छोरो पनि थियो ।

‘पोर्फिरे!’, मोटो व्यक्तिले दुब्लो व्यक्तिलाई देख्नेवित्तिकै करायो । ‘के तिमी पोर्फिरे नै हौ? मेरो प्रिय साथी ! कति हिउँद, कति बर्खा बिते है?’

‘हे भगवान!’, आश्चर्यचकित भएको दुब्लो व्यक्ति चिच्यायो । ‘मेरो बाल्यकालको साथी! तिमी कहाँबाट यहाँ आइपुग्यौ?’

दुई साथीहरूले एकअर्कालाई तीनचोटि मित्रवत चुम्बन गरे र आँसुले भरिएका आँखाले एकअर्कालाई नियाले । दुवैजना दंग थिए ।

‘मेरो प्रिय साथी!’, चुम्बनपछि दुब्लो साथीले भन्यो, ‘यो त नसोचेको भयो ! अचम्मै भयो ! लौ मलाई हेर ! म त पहिले जस्तै उस्तै सुन्दर छु ! उस्तै प्यारो र खुसी छु ! तिमीलाई कस्तो छ ? नाम/दाम कमाएका छौ नि? बिहे गर्यौ? तिमीले देख्यौ नै होला, मैले त बिहे गरें...यिनी मेरी श्रीमती लुइज हुन्...र यो चाहिं मेरो छोरा नाफनेल...अहिले तीन कक्षामा पढ्छ । उनी मेरो बाल्यकालका साथी नाफान्या हुन् । हामी स्कुलमा सँगै पढ्थ्यौं ।’

नाफान्याले केहीबेर सोच्यो र आफ्नो टोपी खोल्यो ।

‘हामी स्कुलमा सँगै थियौं’, दुब्लो मान्छेले भन्दै गयो, ‘तिमीलाई याद छ अरुले तिमीलाई के भनेर जिस्काउँथे? तिमीलाई सबैले हिरोस्ट्रेटस भनेर बोलाउँथे किनभने तिमीले एकपल्ट स्कुलको किताबमा सल्किँदो चुरोटले ठोसेर प्वाल पारेको थियो । र मलाई भने सबैले एफिएल्टेस भनेर जिस्काउँथे किनभने मलाई कथाहरू भन्न मनपर्थ्यो । हा हा !...हामी त्यतिबेला केटाकेटी नै थियौ । नलजाऊ नाफान्या । छोरा, यता अंकलतिर आऊ त । र यिनी मेरी श्रीमती हुन्..’

नाफानेलले केहीबेर सोच्यो र आफ्नो बुवाको पछाडिपट्टि आएर लुक्यो ।

‘अनि तिमी कस्तो गरिरहेको छौ मेरो साथी?’, आफ्नो साथीलाई निकै उर्जापूर्ण रुपले हेर्दै मोटो मान्छेले सोध्यो । ‘सरकारी जागिरमा छौ? कुन तहमा पुग्यौ?’

‘हो प्रिय साथी मैले नोकरी गरिरहेको छु । पछिल्लो दुई वर्षदेखि म कलेजीयट एसेसर(रुसी साम्राज्यको सरकारी सेवाको ८ औं क्लासको पद जुन न्यूनस्तरको हो) छु । तलब निकै कम छ, तर त्यसले खासै फरक परेको छैन । मेरी श्रीमतीले संगीत सिकाउँछिन र म यसको अलावा चुरोट राख्ने काठको बाकस पनि बनाउने काम गर्छु ।  र तिनलाई म प्रत्येकको एक रुबेलमा बेच्छु । कसैले १० वा भन्दा बढी किन्यो भने छुट पनि दिन्छु । यसरी नै चलिरहेको छ । मैले पहिले कारिन्दाको रुपमा काम गर्थें र अहिले यहाँ पहिलेकै विभागमा प्रमुख कारिन्दाको रुपमा सरुवा भएको छु । अब म यहीं काम गर्नेछु । अनि तिम्रोचाहिं के कस्तो छ? तिमी त पक्कै पनि सिभिल कौन्सिलर भइसक्यौ होला है? होइन त?’

‘होइन प्रिय साथी ! त्यो भन्दा अझै माथि छु’, मोटो व्यक्तिले भन्यो । ‘म त प्रिभी कौन्सिलर(रुसी साम्राज्यको सरकारी सेवाको तेस्रो क्लासको उच्चस्तरीय पद)भइसकेको छु...दुई सिताराहरू अंकित’

‘होइन प्रिय साथी ! त्यो भन्दा अझै माथि छु’, मोटो व्यक्तिले भन्यो । ‘म त प्रिभी कौन्सिलर भइसकेको छु...दुई सिताराहरू अंकित’

दुब्लो मान्छे एकाएक निलो भयो र अवाक् रह्यो, तर उसले झट्टै आफ्नो अनुहारमा मुस्कान ल्यायो र यस्तो लाग्थ्यो कि उसको अनुहार र आँखाबाट ज्वाला निस्किरहेको छ...अत्तालिएको ऊ लड्खडाउँदै झन्डै लड्यो....उसले बोकेका बाकस र सामानहरू पनि भुइँमा खस्न लागे... उसकी श्रीमतीको लामो चिउँडो झनै तन्कियो, नाफनेलले आफैंलाई निकै सतर्क गरायो र आफ्नो पोशाकको सबै टाँकहरू लगायो ।

‘ओहो! महामहिम, म...निकै प्रसन्न भएँ ! मेरो बाल्यकालको साथी यति ठूलो व्यक्ति होइबक्सनुभएको रहेछ !’

‘भैगो, भैगो!’, मोटो मान्छेले निधार खुम्चायो । ‘के-का लागि यस्तो लबज? तिमी र म सानोमा साथी थियौं, र हामीबीच यस्तो भद्दा औपचारिकताको आवश्यकता छैन नि!’  

‘भगवानले मलाई क्षमा गरून् ! हे महामहिम ! यो के भनिबक्सनुभएको हजुरले...?’ दुब्लो व्यक्तिले पहिले भन्दा बढी काँप्दै दबेको मुस्कानसहित भन्यो । ‘महामहिमको अनुकम्पा पाउनु त अमृत बराबर छ...महामहिम यो मेरो छोरा नाफानेल हो....र यिनी मेरी श्रीमती लुइज हुन्’

मोटो मान्छेले केही विरोध प्रकट गर्नै लागेको थियो कि उसले दुब्लो मान्छेको अनुहार भक्ति, चिल्लो घसाई र चाप्लुसीपूर्ण अभिव्यक्तिले भरिएको देख्यो र उसलाई वाक्कदिक्क लाग्यो । ऊ त्यसपछि दुब्लो मान्छेलाई आफ्नो हात दिंदै त्यहाँबाट जान खोज्यो ।  

मोटो मान्छेले केही विरोध प्रकट गर्नै लागेको थियो कि उसले दुब्लो मान्छेको अनुहार भक्ति, चिल्लो घसाई र चाप्लुसीपूर्ण अभिव्यक्तिले भरिएको देख्यो र उसलाई वाक्कदिक्क लाग्यो ।

दुब्लो व्यक्तिले उसका तीनवटा औंलाहरू दबायो, आफ्नो पूरै शरीर झुकायो र एक चिनियाँले जस्तै गरी दबेको हाँसोले हाँस्यो, ‘हे-हे-हे’ । उसकी श्रीमती मुस्कुराई । नाफानेलले भुइँमा आफ्नो खुट्टा रगड्यो र टोपी खसायो । उनीहरू तीनैजना व्याकुल थिए ।


Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment