मानबहादुर बाजे


मानबहादुर बाजे (कविता)
- अनुप जोशी

मानबहादुर बाजे
गाउँ छोडेर कहिल्यै कतै गएको छैन
गएको त छ
हजारौंपल्ट मर्स्याङ्दी तरेर
पारीको बजारसम्म
जहाँ ठूलाठूला मोटरहरुबाट
(
जसमा ऊ चुनावप्रचारमा जाँदा बाहेक कहिल्यै बसेको छैन)
चिल्लाचिल्ला खुट्टाहरु निस्कन्छन्
पृथ्वीभन्दा गह्रौ भारीहरु निस्कन्छन्
उसले खुट्टाहरुलाई नमन गरेको छ 
पृथ्वीहरुलाई बुई बोकेर गाउँसम्म उकालेको छ
एउटा पृथ्वी त
उसको घाँटीमा पनि झुण्डीरहेको छ
त्यसलाई उसले पूर्वजन्मको पापको फल ठानेर
प्रायश्चित गरिरहेको छ
टक्क रोकिन्छ मोटर-
फुत्त निस्कन्छ नाती केटो
उसको घाँटीको पृथ्वीजस्तै नाती केटो पनि
पहिले देखेभन्दा हलक्कै बढिसकेको छ
बेर्छ- केटोको खुट्टाले आफ्नो घाँटी
झुण्ड्याउँछ-
मोटरबाट झरेको एउटा सानो झोला
उसलाई के थाहा?
भर्खरै कमेरो लेपेजस्तो चमचमाउँदो देखिने
बुहारीको अनुहारको रहस्य
सप्पै त्यही सानो ब्रह्माण्डभित्र लुकेको छ भनेर ?
झोलाभित्र-
कपाल टल्काउने तेल छ
तिहुन पकाउने तेल छैन
अनुहार र हातखुट्टामा घस्ने छुट्टाछुट्टै पाउडर छ
बारीको कान्लामा मलमलाएको निगुरोको तरकारीमा हाल्ने
नुन/मसला छैन
म्याग्निफाइंग ऐना छ
तर मान्छेको समवेदना प्रतिबिम्बित गर्ने केही छैन
नाती केटो-
(
जसको चिप्लो नाम उसको खस्रो जिब्रोमा
क्यै गरी बस्न सकेको छैन)
पिढीमा बसेर आमासँग पढिरहेको छ-
पृथ्वीमा वन र वन्यजन्तु नाश भइरहेका छन्
मान्छेको जनसंख्या आकाशिएको आकाशियै छ
उसले निक्र्योल गर्छ-
सहरमा सफेद झूठ सिकिरहेछ नाती केटो
उसको गाउँ-
जहाँ पहिले दुई सय धुरी घर हुने गर्थे
प्रत्येक आँगनमा नानीहरु गुच्चा/डन्डीबीयो खेल्ने गर्थे
खेतमा सुनको बाला झुल्थ्यो
अहिले मान्छेहरुसँगै घरहरुपनि मोटर चढेर सहर पुगिसकेका छन्
प्रत्येक घरको सट्टामा एकदर्जन रुख पलाएका छन्
खेतबारी-जताततै घाँटीसम्म आइपुग्ने झाडी मात्र छ
दिनभरी ऊ धुरीसम्मै आइपुग्ने बाँदरको फौज धपाएर बस्छ
बाख्रा खान दिउसै आउने चितुवासँग
सिपाए भएर भिडन्त गर्छ
उसले हिसाब गरिसकेको छ -
गाउँमा मान्छेभन्दा धेरै जंगलमा चितुवा छन्
मानबहादुर बाजे जुर्मुराएर दावी गर्छ-
मान्छेको जनसंख्या घटेको घट्यै छ
अब चाडै लोप भएर जानेछ मान्छे जाती
यत्रतत्र जंगल र जनावर मात्र हुनेछन्
साँझमा-
साउदीबाट छोराको फोन आउँछ
बुहारीको मोबाइलमा
भकारोमा गोवर सोहोर्दै गर्दा उसले सुन्छ -
"
पर्सिदेखि नै डिस्कोभरीको स्कुल लाग्छ
हामी भोलि नै फर्कन्छौँ डार्लिङ!"
मानबहादुर बाजे
गाउँ छोडेर कहिल्यै कतै गएको छैन
तर जानु त छ-
पुर्खाहरुले पछ्याइगएको ईश्वरसम्मको बाटो
मानबहादुर बाजे खोक्छ- छाद्छ आलो रगत
भाउन्न भएको टाउको पृथ्वीजस्तै फनफनी घुमिरहन्छ
उसले थाहा पाइसकेको छ-
यो निर्जन गाउँघरमा आखाँ बन्द गरेर
सपनाको भव्य सहरमा व्युझिने बखत आइपुग्न-पुग्न लागेको छ


Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment