ब्युँझिएर तिमीलाई






तिमी जाऊ !
मेरो अंगालोको भीर छिचोलेर
हावामा बहकिँदै-बहकिँदै
इन्द्रेणीको आठौँ रंग हुन ।

थाहा छ ?
मैले तिमीलाई बिर्सन्छु भनेँ भने
झन् बढी सम्झनेछु
र मेरो मुटुका काँप-काँपबाट
टुसाउनेछन् यादका अनगिन्ति आँकुराहरु

म तिम्रो मनमा गढ्न सकिन
कि तिमी पनि मेरो जीवनको दलदलमा जाक्कीनु हुँदैन

तिमी जाऊ !
मध्यरातमा म निदाईरहेको बेला
मेटाउँदै सिँदूर पोखिएको त्यो जर्जर बाटोलाई
ताकि म तिमीलाई तिम्रो सपनीमा समेत
पछ्याउन नसकूँ

जसरी एकदिन गायब भएथ्यो
हाम्रो पिँजडाको प्यारो सुँगा
तेसरी नै तिमी पनि गायब हुनु बाफ झैँ बतासमा ।

म निद्राबाट ब्युँझेर
कहिँ आसपासमा तिमीलाई नभेट्दा
तिमीलाई  कतै खोज्ने छैन
चिच्याएर बोलाउने छैन
न छापिनेछ कुनै खवरपत्रमा
तिमी हराएको सूचना

किनकी तिमी गएपछि

मलाई थाहा छ म कहिल्यै ब्युँझन सक्ने छैन ।

-अनुप जोशी


.
Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

0 सुझाबहरु:

Post a Comment